काठमाडौँ–बाल शल्य चिकित्सकको नेपालमा पहिलो अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु भएको छ। बाल शल्य चिकित्सक चिकित्सक संघ नेपालको आयोजनामा सो कार्यशाला सुरु भएको हो ।
चैत्र ३ र ४ दुई दिन सञ्चालन हुने सो कार्यशाला स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. रोशन पोख्रेलले उद्घाटन गरेका हुन् । कार्यशालाको उद्घाटन गर्दै डा पोखरेलले सरकारी सेवामा बाल शल्य चिकित्सकको दरबन्दी कम रहेकोले त्यसलाई बढाउने गृहकार्य अगाडि बढेको जानकारी दिए ।
हाल नेपाल सरकार अन्तर्गत जम्मा ५ वटा दरबन्दी रहेकोमा ४ जना मात्र पूरा भएको भन्दै नयाँ प्रस्तावित अस्पताल संरचनामा प्रदेश अस्पताल र २ सय बेड माथिको अस्पतालमा कम्तीमा एक दरबन्दी रहने व्यवस्था सिफारिस गरिएको बताए ।
कार्यशालामा अमेरिका, जापान, युके, भारत, बङ्गलादेश, पाकिस्तान, सिंगापुर, बेलायत र नेपालका गरी २०० बाल शल्य चिकित्सक उपस्थित रहेको कार्यशाला तयारी समितिका सचिव प्राध्यापक डाक्टर विजय थापाले जानकारी दिए ।
उनका अनुसार कार्यशालामा १ सय कार्यपत्र प्रस्तुत गरिन्छन् । जसमा ४० वटा नेपाली र ६० वटा विदेशी रहेका छन् । कार्यशालामा बाल शल्य चिकित्सक अध्ययन गरिरहेका चिकित्सकहरू पनि उपस्थिति छन् ।
नेपाल मेडिकल काउन्सिलमा ३० जना बाल शल्य चिकित्सक दर्ता रहेका छन् ।