२०८१ असोज ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल 

६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल 


काठमाडौ–दुई वर्ष अघि केपी शर्मा ओली मन्त्री परिषदले नीति तथा कार्यक्रम र बजेटमा घोषणा भएको बाल स्वास्थ्य अध्ययन संस्थान परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम र बजेटमा कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थान बनाउने घोषणा गरेको थियो । साेही अनुरूप कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य विज्ञान संस्थान बनाउनको लागि सरकारले डिपिआर तयार गरेर अगाडी बढ्ने घोषणा गरेको हाे।
संस्थानको भवन लगायत संरचना तयारी को लागि सरकारले भवन विभागलाई डिपिआर तयारी गर्न निर्देशन दिएको थियो । अस्पतालका निर्देशक डा युवानिधी बसौलाले भवन विभागले तयार पारेको डिपिआर सरकारलाई बुझाएर आगामी आर्थिक वर्षबाट काम सुरु गर्ने गरी प्रस्ताव तयार गरिएको बताए । ‘यो बहु वर्षीय परियोजना हो ।’ उनले भने ‘आगामी वर्ष काम सुरु गर्न लागतको २५ प्रतिशत बजेट माग गर्ने तयारी गरिएको छ ।’ तयार पारिएको डिपिआर अनुसार परियोजना सम्पन्न गर्न ६ अर्ब ९ करोड २९ लाख ३६ हजार ५ सय रुपैयाँ खर्च हुनेछ ।

सो लागतमा ६ वटा भवन तयार हुने उनले जानकारी दिए । तयार पारिएको परियोजना अनुसार पहिलो तीन बटा ए, वि र सि ब्लकमा अस्पताल सञ्चालनका लागि प्रयोग हुनेछन् । ती तीनवटै ब्लक ६/६ तले हुने र त्यसमा १ हजार बेड सञ्चालन हुने गरी डिपिआर तयार गरिएको छ । त्यसै गरी अर्को ‘डी’ ४ तले ब्लकमा शैक्षिक क्रियाकलाप हुन्छ भने ब्लक ‘ई’ पनि ४ तले नै हुनेछ । जसमा होस्टल तथा कर्मचारी क्वाटर रहने छ । हाल कान्ति बाल अस्पताल संज्चालन भइरहेको स्थानमा रहेको १०० रोपनी क्षेत्रफलमा नै संस्थान स्थापना हुने निर्देशक डा बसौलाले बताए ।

संस्थान हुँदा के हुन्छ ?

अस्पतालले सरकारलाई बुझाएको अवधारणा पत्रमा नेपालको सातै प्रदेशका बालबालिकाको प्रेषण अस्पतालको रूपमा विकास गर्ने उल्लेख छ । यस्तै बाल स्वास्थ्यको सबै विशिष्टीकृत सेवाहरूको स्थापना सहित एकीकृत रूपमा सेवा उपलब्ध गराउने, देशका सबै बाल अस्पताल, विभाग, इकाईहरूको लागि आधारभूत मापदण्ड तथा उपचार निर्देशिकाहरू तयार पारेर लागू गराउन समन्वयकारी संस्थाको रूपमा विकास गर्ने सोचका साथ संस्थानको अवधारणा पेस गरिएको कान्तिका तत्कालीन निर्देश समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल बताउँछन् ।

संस्थानमा परिणत भएसँगै नेपाल सरकारको बाल उपचारको राष्ट्रिय नीति तर्जुमा गर्ने मुख्य सहयोगी केन्द्रको रूपमा विकास हुने पौडेलको दाबी छ । अवधारणा पत्रमा बाल स्वास्थ्य सम्बन्धी उच्च शिक्षा अध्ययन अध्यापन तथा बाल स्वास्थ्य अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने उल्लेख छ । साथै, बाल स्वास्थ्य तथ्याङ्क बैङ्क स्थापना गरी सूचनालाई विकेन्द्रीकरण गर्ने लक्ष्य राखेको छ । जसबाट बाल स्वास्थ्य सम्बन्धी सबै प्रकारका सूचना उपलब्ध गराउन सहयोगी हुने जनाइएको छ ।

अस्पताललाई संस्थानमा परिवर्तन गर्दा मानव स्रोत, भौतिक पूर्वाधार, तथा उपकरणको विस्तार गर्ने अवधारणा पत्रमा जनाइएको छ । डा बसौला अस्पतालमा भइरहेका विशिष्टीकृत सेवाहरूलाई अझ व्यवस्थित गर्ने र थप सेवाहरू बिस्तार गरी बाल स्वास्थ्य सम्बन्धी शैक्षिक केन्द्रको रूपमा सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयमा बुझाइएको अवधारणा पत्रमा हाल सञ्चालनमा रहेका एम.डी/एम.एस.लाई पूर्ण क्षमतामा सञ्चालन गर्दै थप उच्च शिक्षाका कार्यक्रमहरु सुरु गर्ने समेत उल्लेख छ । हाल उपचारात्मक कार्यक्रममा मात्र प्राथमिकता दिइरहेको अस्पताललाई अध्ययन अनुसन्धान तथा तालिम सहितको संस्था बनाएर लैजाने सरकारको योजना रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ