२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजामा स्वास्थ्य शिविर, ग्रामीण महिला पाठेघर रोगले ग्रसित 

सिंजामा स्वास्थ्य शिविर, ग्रामीण महिला पाठेघर रोगले ग्रसित 


जुम्ला – शुक्रबार सिंजा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा यहाँका ३ सय २७ जना ग्रामीण महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासंग समन्वय गरी शिविर सञ्चालन गरिएको हो । पालिका स्तरीय स्वास्थ्य शिविरमा पालिकाभरका ३ सय २७ महिला सहभागी भएका हुन् ।

जसमध्ये नराकोट स्वास्थ्य चौकीमा १ सय १ जना, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा १ सय ५० जना गरी जम्मा ३ सय २७ जना एकै दिन शिविरबाट लाभान्वित भएको जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताए ।

उनका अनुसार ४ जना महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । साथै ५७ जना महिलालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ । भने ३ सय २७ जना महिलालाई पाठेघर पाठेघर खस्ने,सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने लगायतका समस्याको जाँच गरिएको जनस्वास्थ्य निरीक्षक धितालले जानकारी दिए ।

चेतना अभिवृद्धि,कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त भइने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. सुबि बस्नेतले बत्ताइन्  ।

स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण महिला गाउँमै उपचार गराउन पाउँदा खुसी भएका छन् । गाउँमै पाठेघरको जाँच गराउन पाउँदा सिंजाका ३ सय २७ जना महिला नै खुसी भएका छन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने उहाँहरूको माग छ ।

धेरै बच्चा जन्माएका तथा कुनै नजन्माएका महिलामा पनि पछिल्लो समय पाठेघर सम्बन्धी समस्या देखा परेको छ । चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्या छ ।

सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्छन्,“आफ्ना समस्या खुलेर भन्न नसकेकै कारण ग्रामीण महिला पाठेघर क्यान्सरको जोखिममा छन् । त्यसैले पालिकामै शिविरको आयोजना गरी महिलाको स्वास्थ्य जाँच गर्‍यौ । पाठेघर क्यान्सरको जोखिमबाट महिलालाई मुक्त गराउन कार्यबोझ घटाउने कार्यक्रममा जोड दिनुपर्ने देखियो ।”

अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने,सेतो पानी बग्ने,ढाड दुख्ने समस्याबाट पीडित छन् । गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुराएको छ ।

कार्यबोझ न्यूनीकरण संगै महिला सशक्तीकरण,उद्यमशीलताको विकास र महिलाको स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रमलाई जोड दिइने अध्यक्ष धितालको जोड छ ।

सिंजा गाउँपालिका ४ की पदमकली बुढा लामो समयदेखि तल्लो पेट दुख्ने,सेतो पानी बग्ने समस्याबाट ग्रसित थिइन् । चेतनाको अभाव,घरको आर्थिक अवस्था कमजोर र परिवारसँग खुलेर भन्न नसकेरै उनी आफ्ना समस्या लुकाउन बाध्य भइन् । आफ्नो स्वास्थ्य भन्दा घरको काममा बढी केन्द्रित हुँदा पछि पदमकलीको पाठेघर खस्ने समस्या हुन थाल्यो । उपचारको प्रतीक्षामा भए पनि उनले आफ्नो समस्या कसैसँग सुनाइनन् । साथै उपचार गर्ने र जँचाउने मेसो पनि पाइनन्

तर शुक्रबार सिंजाको नराकोट स्वास्थ्य चौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बुढाले पहिलो पटक आफ्नो पाठेघर जँचाइन् । पाठेघर नखस्ने रिङ हालिन् । स्वास्थ्य चौकीमा पाठेघर खस्न नदिन रिङ लगाउने र अन्य जाँच हुने थाहा पाएपछि गाउँमै सबै समस्या जँचाउन पाउँदा राहत महसुस भएको बुढाले बत्ताइन् ।

लामो समयदेखि पाठेघर खस्ने,तल्लो पेट दुख्ने समस्याबाट पीडित थिए । उनले भनिन,“ठुला अस्पताल पुगेर उपचार गर्न जँचाउन आर्थिक अवस्थाले सम्भव थिएन । गाउँमै त्यो पनि निःशुल्क जाँच र उपचार पाउँदा खुसी लाग्यो ।”

त्यस्तै सिंजा गाउँपालिका ३ कै बसना सुनार पनि पाठेघर सम्बन्धी समस्याबाट पीडित थिइन् । उनले शुक्रबार गाउँमै पाठेघरको जाँच गराइन् । उनले भनिन,“स्वास्थ्य भन्दा काममा ध्यान दिएर,सानैमा विवाह गरेर,बेलैमा आफ्ना समस्या भन्न नसकेर पाठेघर खस्ने हुँदो रहिछ । स्वास्थ्य जाँचसँगै त्यो ज्ञान पनि पाए । गाउँमै सुविधा पाउँदा उत्साहित छु ।”

स्वास्थ्य शिविरबाट आफ्ना समस्या पहिचान,स्वास्थ्य जाँच र रोकथामका उपाय थाहा पाउँदा पदम र बसना जस्तै सिंजाका सयौँ महिला खुसी भएका छन् ।

तर पाठेघर सम्बन्धी समस्या भोगेका पदमकली र बसना एक उदाहरण मात्र हुन् । जुम्ला सहित कर्णालीका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट ग्रसित छन् । धेरै बच्चा जन्माउनु,सानैमा विवाह गर्नु,धेरै तौलको भारी बोक्नु,कार्यबोझ जस्ता कारणले पाठेघर खस्छ । यहाँका महिला यस्ता विषयमा ध्यान दिँदैनन् । बेलैमा जाँच र उपचार नगराए पाठेघर क्यान्सरसम्म हुन्छ । कर्णालीमा अधिकांश ग्रामीण महिला पाठेघर क्यान्सरको जोखिममा छन् ।

पाठेघर क्यान्सरको जोखिमबाट महिलालाई जोगाउन स्थानीय सरकारले पटक पटक स्वास्थ्य शिविर सञ्चालन संगै कार्यभार घटाउन कृषिमा यान्त्रिकीकरणको अवधारणा ल्याउनु पर्ने आवश्यक छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ