‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ नेपाली प्याथालोजी क्षेत्रमा भिडियो शृङ्खलाको ‘बेन्चमार्क’ हो । यो सम्यक डाइग्नोष्टिकका अध्यक्ष एवं कन्सल्ट्यान्ट प्याथालोजिष्ट डा. केयुर गौतमको आम सर्वसाधारण तथा चिकित्सकहरुलाई प्याथालोजीका विविध पाटाहरुबारे बुझाउने दुई वर्ष लामो सार्थक प्रयास पनि हो । यही प्रयाससँग उनको अथक मेहनत, उर्जा, निरन्तरता र कामप्रतिको हुटहुटी जोडिएर नै शृङ्खला बेन्चमार्क बन्न पुगेको हो ।
बेन्चमार्क यसअर्थमा कि प्याथालोजीमा झण्डै १०० एपिसोडको सचेतना र जानकारीमूलक भिडियो शृङ्खला नेपाली भाषामा आम मानिसले बुझ्न सक्ने गरी अहिलेसम्म नेपालमा कसैले बनाएकै छैन । यो शृङ्खलाले प्रयोगशाला परीक्षणबारे सर्वसाधारणमाझ सचेतनाको ज्योति फैलाएको छ नै चिकित्सकमाझ पनि धेरै जिज्ञाशाहरुलाई हल गर्ने काम गरेको छ । त्यसैले त लाखौं मानिसहरु अहिले यो शृङ्खलाका दर्शकका रुपमा जोडिएका छन्, हजारौंले शृङ्खलाका भिडियोहरु लाइक गर्छन्, सयौंले सेयर गर्छन् र दर्जनौंले प्रतिक्रिया मात्रै दिदैंनन्, आफूलाई त्यही अनुरुप तयार पार्छन् । हजारौंको ताली र केहीको आलोचना कमाउनकै लागि डा. केयुरले अध्ययन, ज्ञान र प्रस्तुतीमा प्रशस्तै समय खर्चिएका छन् । भन्छन्, ‘समाज र फ्याटरनिटीलाई केही दिन सके त्यसैमा खुसी छु ।’
उनले जतिबेला ‘डा. केयुर गौतम इन फोकस’ शृङ्खलाको पहिलो भिडियो युट्युबमा अपलोड गरेका थिए । त्यतिबेला उनले न यति लामो यात्राबारे सोचेका थिए, न त ठूलो यति ठूलो जमातका लागि यो यति धेरै उपयोगी बन्ला भन्ने नै लागेको थियो । तर, प्रयोगशाला परीक्षणका लागि आउनेहरुका निरन्तरका जिज्ञाशाहरु एक लटमा चिरफारका लागि उनले सार्वजनिक मञ्च खडा गर्ने उद्देश्यका साथ भिडियो शृङ्खला यात्राको योजना बनाएका थिए । सन् २०२० मा केही केही शंका तर धेरै जाँगर र उर्जाकाबीच उनले पहिलो एपिसोडका लागि स्क्रीप्ट तयार पारे ।
आफ्नै कार्यालयको माथिल्लो तलामा मोबाइलमा रेकर्ड गर्न उक्लिए । प्रस्तोताका रुपमा क्यामरा फेस फेस नगरेका उनलाई पहिलो एपिसोड रेकर्ड गर्न सहज भएन् । ‘अलिअलि लाज, अलिअलि अप्ठ्यारो,’ उनले सम्झिए, ‘सुरु–सुरुमा २०–२५ टेकसम्म लिइयो । एउटा भिडियो बनाउन २–३ घण्टा पनि लाग्यो ।’ उनले ‘आफूलाई सही प्रयोगशाला रिपोर्टका लागि कसरी तयार पार्ने ?’ शीर्षकमा झण्डै ५ मिनेट लामो पहिलो भिडियो तयार पारे । डा. गौतमलाई अहिले पनि याद नै छ ठ्याक्कै १९ अक्टोबर २०२० मा त्यो भिडियो ‘सम्यक डाइग्नोष्टिक’ को युट्युब च्यानलमा रिलिज गरियो ।
सुरुमा त डा. केयुर आफैले नजिकका ४०—५० जनालाई उक्त भिडियो लिंक म्यासेजमार्फत पठाए । तर, पछि त्यो उचित लागेन र छाडिदिए । पहिलो एपिसोड खासै धेरै भ्यूज भएन् । तर, उनले भिडियो ब्लग तयार पार्ने आफ्नो उर्जालाई भने घट्न दिएनन्, निरन्तर सेल्फ मोटिभेट गर्दै गए । परिणाम नै मान्नुपर्छ, हरेक बिहीबार सार्वजनिक हुने यो भिडियो शृङ्खलाको १०० औं भाग आज (बिहीबार) सार्वजनिक भएको छ । ‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’का कोभिड, डेंगु्, ग्यास्ट्राइटिस, भिटामिन डी, भिटामिन बी१२, के सुगर फास्टिङभन्दा पीपी सुगर कम हुन सक्छ, प्रेग्नेन्सी टेस्ट कतिबेला गर्नेजस्ता भिडियोहरुले खुबै चर्चा बटुले । त्यसबाहेक रगतको यात्रा, लिपिड प्रोफाइल, युरिक एसिड, महिनावारीले रगत परीक्षणमा असर गर्छ ? जस्ता अनेकन जनचासोका विषयमाथि पनि भिडियो बनाइएका छन् ।
यो यात्राले उनलाई अहिले काफी परिपक्व पनि बनाएको छ । ‘सय एपिसोड पुग्दा २ देखि ३ टेकमा एक एपिसोड गरिसक्छु,’ उनले भने, ‘नेपाली भाषामा पनि राम्रो भएको छ ।’ डा. केयुरले भिडियोहरु बनाएपछि पाएका सकारात्मक प्रक्रियाबाट पुलकित छन् । ‘कतिपय प्रेरित गर्ने प्रतिक्रियाहरु कमेन्ट बक्समा त आउँछन् नै, मोबाइलमा पनि म्यासेजहरुमा आउँछन्,’ उनी भन्छन्, ‘हामीले सकेसम्म बिरामीहरुका प्रश्नलाई नै टिपेर समेटेर भिडियो बनाउँछौं ।’ सर्वसाधारणको जिज्ञाशा टिप्ने उनको शैलीले नै उनका भिडियोहरु लोकप्रिय भएका हुन् । अहिले त उनलाई कतिले अंग्रेजी भाषामा समेत भिडियो बनाइदिन आग्रह गर्ने गरेका छन् । त्यसो भए डा. गौतम स्वयंमलाई चाहिँ के अनुभव भइरहेको छ ? ‘आफनो इच्छा रहेको विषयलाई यसरी प्रवद्र्धन गर्न पाउनु नै मेरो लागि खुशीको कुरा हो,’ उनी भन्छन्, ‘आफ्नो बोल्ने क्षमता पनि बढ्यो ।’ उनी भिडियोहरुका बारेमा अन्य व्यक्तिहरुबाट समेत प्रतिक्रिया लिन्छन् ।
‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ यात्रा
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको प्रयोगशाला प्रमुखबाट उनले जागिर छाडे । आफ्नै केही गर्ने जोखिम मोलेर जागिरको कन्फर्ट जोनबाट बाहिर आए । साथीहरुसँग मिलेर जावलाखेलमा सम्यक डाइग्नोष्टिक प्रा.लि. स्थापना गरे । ल्याबमा परीक्षणका लागि आउने बिरामीलाई प्रिटेस्ट र पोस्ट टेस्ट काउन्सिलिङ गर्नुपर्छ भन्ने डा. केयुरको पहिलेदेखिकै मान्यता थियो । पढ्दा र पछि काम गर्दा पनि बिरामीलाई काउन्सिलिङ गर्नुपर्छ भन्ने उनलाई लागिरहन्थ्यो । कतिपय केसमा उनले बिरामीहरु स्वयंम रिपोर्टको गलत व्याख्या गर्ने गरेको पनि देखें ।
‘बिरामीले त्यसरी उल्टो व्याख्या गरिदिँदा रिपोर्ट गलत आएछ भन्ने आफूलाई लाग्ने अनि बिरामीलाई चाँही ल्याब गलत रहेछ कि वा केही गल्ती भयो भन्ने लाग्ने सोच हुने भयो,’ उनले भने, ‘जस्तैः बिरामीले खाली पेटमा जचाउँदा सुगर कम आउनुपर्नेमा बढी आयो अनि खाना खाइसकेपछि जचाँउदा कम आयो भने यो त उल्टो भयो भन्ने गरेको देखियो । यसले गलत रिपोर्ट आयो कि भन्ने पनि महसुस हुने अवस्था देखियो ।’ त्यस्तै, युरिक एसिडको बढी रिपोर्ट आउँदा कतिपय बिरामीले उनलाई प्रश्न गर्थे, डा. साब रिपोर्टमा युरिक एसिड यत्ति धेरै देखायो तर मलाई दु:खेकै छैन ?’ अर्कोतिर औषधि खाएर अर्को ल्याबमा जचाउँदा कम आयो भने अस्तिको रिपोर्ट त गलत रैछ नि भन्ने गलत धारणा कतिपय अवस्थामा उनले अनुभूति गरे ।
खाली पेटमा गरिने ग्लुकोज जाँच कतिबोल गर्ने । खानापछिको पिपी ग्लुकोज कुन बेला दिने ? दुई वटा भिन्न ल्याबको रिपोर्टको तुलना कसरी गर्ने ? परीक्षण पूर्व के तयारी गर्ने ? जस्ता कुरामा ध्यान नदिँदा जहिलेपनि बिरामीलाई नै हानी हुने अवस्था उनले देखे । किनकी, कतिपय अवस्था यही रिपोर्टकै कारण अनावश्यक औषधि खानुपर्ने अवस्था आइरहेको हुन्थ्यो । प्रयोगशालाका तीन चरणः प्रिएक्जामिनेशन, एक्जामिनेशन र पोस्ट एक्जामिनेशन फेज के कुरामा ध्यान दिने भन्ने पनि फ्याटरनिटीकै धेरै मानिसहरुलाई ज्ञान नभएको अनुभव पनि उनलाई भएको थियो । ‘डाक्टर परीक्षणका लागि प्रेस्क्राइब गरेदेखि नमुना मेसिनसम्म छिर्ने अवधिलाई प्रि—एक्जामिनेशन भनिन्छ । ७० प्रतिशत गल्ती यही बेला हुन्छ,’ डा. केयर भन्छन्, ‘त्यो चाहे डाक्टरले गर्दा होस् या बिरामीले । तयारी गर्दाको गल्तीलाई सुधार्यौँ भने चाहिँ सही रिपोर्ट निक्लिन्छ भनेर यो अवधारणा आयो ।’
बिरामीसँगै डाक्टरलाई पनि सचेतना हुनुपर्छ भन्ने कुरा पनि डा. केयरलाई खट्किरहेको थियो । ‘कतिपय अवस्थामा फास्टिङ कति समयको गराउने भन्ने भिडियोले उहाँहरुलाई जानकारी दिन पनि मद्धत गर्छ,’ उनी भन्छन्, । त्यसबाहेक प्याथालोजी विषयप्रति डा. केयुरलाई विशेष प्रेम छ । आम सर्वसाधारणका लागि सचेतना, फ्याटरनिटी मानिसहरुका लागि टेक्नीक र चिकित्सकलाई पनि मद्धत र आफ्नो प्याथालोजीप्रतिको प्रेमले नै उनी आफ्नै प्रयोगशाला स्थापना गरेपछि भिडियो बनाउन लागे । ‘मैले तिनै प्रश्नहरुको आधारमा नै ती भिडियोहरु बनाएको छु,’ उनी भन्छन्, ‘मैले कुनै वैज्ञानिक आधार राखेको छैन । चाहिने कुरा मात्र बोलेको छु ।’ नेपाली भाषामा निकै साधारण कुराहरुलाई समेटिएका उनका भिडियोहरु चाखलाग्दा छन् ।
‘प्याथालोजी महत्वपूर्ण विषय हो किनकी ७० प्रतिशतभन्दा बढी डायग्नोसिसको लागि एवं मोनिटोरिङ, ट्रिटमेन्ट यसकै आधारमा हुन्छन्,’ डा. केयुर भन्छन्, ‘तर यो आधारको बेवास्ता गरिएकाले अब जनचेतना जगाउनैप¥यो भनेर भिडियो बनाउन सुरु गरे ।’ ठूलो संख्यामा मानिसहरुलाई एकसाथ बुझाउनु यसको मुख्य ध्येय थियो । किनभने प्रायः जसो बिरामीहरुको एकै खालका प्रश्नहरु हुने गर्थे । त्यही कारण भिडियो मेकिङ गर्ने अवधारणा झण्डै पाँच वर्ष अघि नै सुरु भएको हो । सम्यक डाइग्नोटिकको च्यानलमार्फत सन् २०१७ बाट जनचेतनामूलक भिडियोहरु उत्पादन हुन थाले । त्यसबेला डा. केयुर, डा. देविश प्याकुरेल, डा. सन्तोष, डा. आभा हरेक हप्तामा एउटा विषयमा भिडियो बनाउँथे । तर, त्यो यात्रा धेरै लामो समय जान सकेन् ।
सन् २०२० अक्टोबरमा डा. केयुरका साथी श्रीष कर्माचार्यसँग केही नयाँ गर्न सकिन्छ कि भनेर सल्लाह मागे । उनले ‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ शृङ्खलाको नाम राखिदिए । र, भने, ‘काम गरौं । इडिटिङ हामी गर्दिन्छौं ।’ यात्रामा धाप मारिदिने मानिस पाएपछि उनले पनि केही दिनमै ‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ शृङ्खलाको तयारी थालिहाले । केही दिनमै रेकर्ड भयो— ‘आफूलाई सही प्रयोगशाला रिपोर्टका लागि कसरी तयार पार्ने ?’ त्यसयता उनको यात्रा हर्डेन्ड क्लबमा पुगिसकेको छ ।
‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ शृङ्खलाका भिडियोहरु सकारात्मक रिजल्टहरु दिइरहेका छन् । कति बिरामीहरुले भन्छन्, ‘डा. साबको त्यो एपिसोड हेरेर आएँ । त्यहाँ धेरै कुरा बुझियो त्यहि अनुसार म आएको छु ।’ कतिले त भन्छन्, ‘त्यो भिडियो हेरेपछि थाहा पाएँ, ओहो यसरी तयारी गरेर जानुपर्ने रैछ ।’ डा. केयुरलाई पनि यसले सजिलो भएको छ । अधिकतम रुचाइएको ग्यास्ट्राइटिसको भिडियोमा त कतिले डा. केयुरलाई नै ग्यास्ट्रोइन्टेरोलोजिष्ट सोचें । ‘त्यो भिडियो हेरेर टाढाबाट पनि धेरै जना यहाँ आउनुभएको थियो,’ डा. केयुर भन्छन्, ‘मैले उहाँहरुलाई जाँच गरेर सम्बन्धित डाक्टर कहाँ रिफर पनि गरेँ । सही जाँच भएर धेरैजना समस्यामुक्त पनि हुनुभएको छ ।’
डा. केयुरकै पेजबाट अपलोड गरिएको कोभिडको समयको एउटा भिडियोले २.५ लाख भ्यूज पायो । ९० प्रतिशत संक्रमितहरुको डाक्टरसँग पहुँच नभएको त्यो समयमा कोभिड—१९ कस्ता लक्षण हुँदा जाँच गराउने ? सामान्य लक्षण के—के हुन् ? जस्ता कुरालाई समेटेर भिडियो बनाएका थिए । डेंगु संक्रमण उच्च बनेका बेला धेरैले बिरामीलाई अनावश्यक जाँचहरु गराइरहेका थिए । डा. केयुरले त्यसबेला प्लेटलेट्सको महत्व के हो? कुन बेलामा डाक्टरलाई देखाउने ? लक्षणहरु के—के हुन्छन् ? घरमै बसिरहनुभएकोले गर्नैपर्ने जाँच के—के हुन् ? भन्ने कुरालाई समेटेर बनाएको भिडियोलाई पनि धेरैले रुचाए । ‘यसरी मैले समुदायलाई मद्धत पुर्याएजस्तो लाग्छ,’ उनले सुनाए । भिडियोले जनचेतना वृद्धि गरेपछि बिरामीहरुलाई आवश्यक कुरा थाहा हुँदा सही रिपोर्ट आउन सहयोगी भूमिका खेलेको छ । जसले डाक्टर र बिरामी दुवैलाई फाइदा पुगेको छ ।
डा. केयुरको विशेषता के छ भने उनले कहिल्यै पनि आफ्नो विशेषज्ञताभन्दा बाहिरको विषयमा भिडियो बनाएनन् । डाइग्नोसिस केन्द्रीत भिडियो बनाएका उनले ट्रिटमेन्टका बारेमा पनि बोलेनन् । ‘ल्याबसँग सम्बन्धित कुरामात्र बोलेर सय एपिसोड भिडियो पुर्याउने म नै हुँला,’ उनले भने, ‘दुई वर्षमा १०० एपिसोड पुग्यो ।’ उनले प्याथालोजी विधा, फ्याटरनिटी, बिरामी र चिकित्सकको फाइदालाई केन्द्रमा राखेर भिडियो बनाए । तर, कतिपय उनका सहकर्मीले नै सम्यकको विज्ञापन, स्पोन्सरजस्ता कुरा गरेर आलोचना गरिदिँदा भने उनको चित्त दुखेको छ । त्यसबाहेक भिडियो शृङ्खला निर्माणका क्रममा केही कठिनाइहरु समेत नआएका होइनन् । उपयुक्त सामाग्रीको चयन, त्यसलाई आम मानिसले बुझ्न सक्ने बनाउनु, टेक्नीकल र वैज्ञानिक शब्दलाई बुझ्ने भाषामा प्रस्तुत गर्नु, तात्पर्यता र अर्थपूर्ण बनाउनुजस्ता कुराहरु सजिला थिएनन् । समयको व्यवस्थापन, मुड, डेडलाइन मिट, सम्पादनजस्ता कुराहरुमा पनि केही कठिनाइ थिए । तर, अनुशासित र कामप्रति विशेष लगाव भएका डा. केयुरको उर्जा र आत्मविश्वासले यी सबै अप्ठ्याराहरु सहजै व्यवस्थापन भए ।
‘यो हर्डेन्ड एपिसोड पुगेको अवसरमा सर्वप्रथम त मेरो सब्सक्राइबर र मेरा शुभचिन्तकहरुलाई धेरै धन्यवाद दिन चाहन्छु,’ कुराको विटमार्नुपूर्व उनले भने, ‘उहाँहरुले सब्सक्राइब गरिदिनुभयो, हेरिदिनुभयो, सेयर गरिदिनुभयो, त्यहाँबाट नै सकरात्मक ऊर्जा आएको हो ।’ उनले आफ्नो यात्रामा दरिलो साथ दिने ‘क्यापिटल आई’का श्रीष कर्माचार्य, काम र समय व्यवस्थापनमा सहयोग गरेर भिडियो निर्माणको वातावरण बनाइदिने सम्यकको टिम, सदैव मोरल सपोर्ट गर्ने डा. देविस र डाक्टरहरुको टिमप्रति विशेष आभार प्रकट गरे ।