२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सुरु


धनगढी-सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सुचारु गरिएको छ । मङ्गलबार अस्पतालले एक कार्यक्रम गर्दै टेलिमेडिसिन सेवा सुचारु गरेको हो ।

नेपालको राष्ट्रिय स्वास्थ्य नीतिमा हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिनलगायत अन्य आधुनिक प्रविधिको विकास विस्तार तथा नियमन गर्ने भनी उल्लेख गरिएको छ ।

जिल्ला अस्पताल तथा दुर्गममा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने क्रममा थप ज्ञान र सिपको आवश्यक परेमा वा उपचार गर्ने क्रममा कुनै द्धिविधा भए टेलिमेडिसिन (दूर चिकित्सा)को माध्यमबाट सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका चिकित्सक वा स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श वा उपचार सहयोग प्राप्त गर्न सकेमा सेवाग्राहीले सहज र गुणस्तरीय उपचार पाउने देखिन्छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिनमार्फत विशेषज्ञ सेवा चाहिने जटिल बिरामी, आकस्मिक सेवा लिन आएका बिरामीलाई विशेषज्ञ स्वास्थ्य उपचार र परामर्श दिने उद्देश्यले दूर चिकित्सा सेवा सञ्चालन कार्यविधि निर्देशिका स्वीकृत गरी लागु गरेको छ ।

हाललाई बहुविशेषज्ञ सेवा उपलब्ध रहेको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई प्रादेशिक हबको रूपमा छनौट गरी अस्पतालमा आवश्यक पूर्वाधारसहितको टेलिमेडिसिन इकाई स्थापना गरी विशेषज्ञता सेवा उपलब्धताको आधारमा अन्य प्रादेशिक अस्पताललाई समेत हबको रूपमा विकसित गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

प्रादेशिक हब अस्पतालमा अस्पताल प्रमुख वा निजले तोकेको व्यक्तिलाई संयोजकको जिम्मेवारी दिई विशेषज्ञ चिकित्सकको सूचि तयार गरी नियमित सेवा सञ्चालनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म सेवा सञ्चालन गरिने निर्देशिका उल्लेख छ ।

टेलिमेडिसिन (दूर चिकित्सा)तथा परामर्श सेवा प्रदान गरे बापत प्रादेशिक हब अस्पतालका विशेषज्ञ चिकित्सकको सूचीमा रहेका सेवा प्रदायक चिकित्सकलाई प्रति बिरामी प्रोत्साहन २ सय रूपैयाँ उपलब्ध गराइने छ ।

त्यसैगरी मङ्गलबार नै सेती प्रादेशिक अस्पताल विस्तारित स्वास्थ्य सेवा पनि सुचारु गरिएको छ । कार्यालय समय (९ देखि ३) भन्दा अतिरिक्त समयमा अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा नै विस्तारित स्वास्थ्य सेवा हो ।

विस्तारित स्वास्थ्य सेवा व्यवस्थित रूपमा सञ्चालन गर्न नियमित रूपमा अनुगमन, निरीक्षण र मुल्याङकन लागि अस्पताल व्यवस्थापन समितिको संयोजकत्वमा समिति गठन गरी स्वास्थ्य सेवाको न्युनतम र शुल्क निर्धारण गरिने विस्तारित स्वास्थ्य सेवा सञ्चालन तथा अनुगमन सम्बन्धी मापदण्ड २०७६ मा उल्लेख छ ।

विस्तारित स्वास्थ्य सेवामा ओपीडी क्लिनिकमा कुनै प्रकारको बिरामीलाई सहुलियत तथा निःशुल्क उपचार नगरिने र स्वास्थ्य बिमा तथा सामाजिक सेवा एकाईमार्फत प्रदान नगरिने अस्पतालले जनाएको छ ।

उक्त सेवाअन्तर्गत प्रति बिरामी परामर्श शुल्क ४ सय रूपैयाँ लाग्ने र बिरामीको चेकजाँच, परीक्षण, निदान, रेडियोलोजी तथा प्रयोगशाला शुल्क अस्पताल व्यवस्थापन समितिले तोके बमोजिम हुनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ