काठमाडौं—नेकपा एमालेले आफ्ना मन्त्रीहरु सरकारबाट फिर्ता बोलाएको छ । सोमबार विहान बसेको एमाले सचिवालय बैठकले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री डा. विमला पौडेल राईलाई संयुक्त राष्ट्रसंघको कार्यक्रममा जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि एमालेले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको थियो ।
एमाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले १० पुसमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा प्रधानमन्त्री दाहाल नअडिएपछि सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको बताए ।
एमाले सरकारबाट बाहिरिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकार यात्रा पनि ४१ दिनमै सकिएको छ । अब प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ गठबन्धनमा मन्त्रालयहरुको बाँडफाँड गर्नेछ । त्यतिन्जेल स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री स्वयंमले राख्ने सम्भावना छ ।
दाहाल नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री रहेका छन् ।