काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सरकारी स्वास्थ्य संस्थामा ‘एक चिकित्सक/स्वास्थ्यकर्मीः एक स्वास्थ्य संस्था’ कार्यक्रम अनिवार्य लागु गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीलाई निजी अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्न नदिइने बताए ।
मन्त्री गिरीले चिकित्सक र स्वास्थ्यकर्मीलाई आफ्नै वा आफ्ना परिवारका नाममा अस्पताल खोलेमा कारवाही गर्ने व्यवस्था निर्मम भएर लागु गर्ने बताए ।
जनताको स्वास्थ्यभन्दा बाहिर कुनै कुरा नसोच्ने बताउँदैं मन्त्री गिरीले नयाँ जिम्मेवारी दिँदा कार्यसम्पादन करार गराउने र त्यसको ४ महिनामा रिभ्यु गर्ने बताए । नयाँ ओएनएम गरेर स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने उनको भनाइ थियो ।
मन्त्री गिरीले नर्सलाई कम पारिश्रमिकमा काम लगाउने निजी स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले नेपाल सरकारको महत्वकांक्षी कार्यक्रम मानिएको स्वास्थ्य बिमाको दायरलाई बढाउँदैं आगामी वर्षबाट ५ लागु पुर्याइने बताए । अहिले स्वास्थ्य बिमा एक लाख रुपैयाँ छ ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले आफू मन्त्रीको स्प्रीटमा काम गर्न तयार रहेको बताए । उनले स्वास्थ्यमा समस्याहरु रहेको बताउँदैं त्यसको तुलनामा उपलब्धिहरु बढी रहेको बताए । ‘उपलब्धिहरु बढी छन् । उपलब्धिहरुलाई संस्थागत गर्दै लैजानुपर्छ,’ डा. पोखरेलले भने ।