काठमाडौं—स्वीटजरल्याण्ड भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पद गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसससँग भेटघाट गर्दैछन् । बुधबार स्वास्थ्यमन्त्री गिरीले डब्लुएचओका महानिर्देशकलाई भेट्ने कार्यक्रम रहेको मन्त्रीसँग भ्रमणमा रहेका मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।
मन्त्री निकट स्रोतकाअनुसार महानिर्देशक डा. ट्रेडोसलाई भेट्नुको प्रमुख कारण आगामी सेप्टेम्बरमा हुन गइरहेको विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली देशहरुको क्षेत्रीय निर्देशकको निर्वाचन हो । जुन निर्वाचनमा नेपालले विश्व क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिने घोषणा गरिसकेकेको छ ।
क्षेत्रीय निर्देशकका लागि नेपालको तर्फबाट विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यलय कार्यरत नेपाली डा. शम्भु आचार्यलाई नेपालले उम्मेदवार बनाउँदैछ । त्यसको घोषणा यसअघि नै सरकारले गरिसकेको छ ।
क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशले पनि आफ्नो दावी पेश गरिसकेको छ । बंगलादेश सरकारले त्यहाँको प्रधानमन्त्रीकी छोरी साइमा वाजेदलाई उम्मेदवार बनाएको छ ।
मन्त्री गिरी पाँचौ विश्व मन्त्रीस्तरीय प्यासेन्ट सेफ्टी समिटमा भाग लिन स्वीटरजरल्याण्ड पुगेका छन् ।