२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा सर्जनलाई शल्यक्रिया टेबल पाउनै मुस्किल…

भेरी अस्पतालमा सर्जनलाई शल्यक्रिया टेबल पाउनै मुस्किल…

साधन-स्रोत अभावमा बिरामीलाई शल्यक्रियाका लागि ४ महिनासम्म कुर्नुपर्ने बाध्यता


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालमा बिरामीको शल्यक्रिया गरेर उपचार गर्ने कन्सल्टेन्ट सर्जन २३ जना छन् । अस्पतालले जनरल सर्जरी, प्रसुती, हाडजोर्नी, नसा, मुत्ररोग, नाक कान घाटी रोगको शल्यक्रियासहितको उपचार सेवा दिदैं आएको छ ।

शल्यक्रिया गर्ने कन्सल्टेन्ट सर्जनको संख्या बढ्दै गएपनि अस्पतालमा अप्रेशन थियटर, अप्रेशन टेबललगायतका साधन स्रोत र नर्सिङ जनशक्ति थप नहुँदा कन्सल्टेन्ट सर्जनलाई अप्रेशन टेबल पाउनै मुस्किल हुन थालेको छ ।

भेरी अस्पतालको अप्रेशन थेयटरमा ५ वटा टेबल छन् । ती ५ वटा टेबलमध्ये करिब २ देखि ३ वटा टेबल शल्यक्रियासहितको प्रसुती सेवामा प्रयोग हुन्छ । बाँकी २ देखि ३ वटा टेबलमा जनरल सर्जरी, प्रसुती, हाडजोर्नी, नसा, मुत्ररोग, नाक कान घाटी रोगका बिरामीको अप्रेशन हुन्छ । विशेषज्ञ चिकित्सकको संख्या बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ । दैनिक करिब ७ सयसम्म बिरामी उपचारका लागि भेरी अस्पतालमा आउँछन् ।

जटिल किसिमका अप्रेशन गर्न धेरै समय लाग्ने बिरामीको अप्रेशन भएका दिनमा बेड अभावकै कारण बिरामीले पालो पाउन ३/४ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको अस्पतालका एनेस्थेसिलोजिष्ट डा. पारस पाण्डेले बताए ।

विशेषज्ञ डाक्टर नहुँदा बिरामीले अप्रेशन सुविधा पाउन मुस्किल हुन्छ भन्ने आम मान्यता भेरी अस्पतालमा बदलिएको छ । भेरी अस्पतालमा डाक्टरको संख्या थपिएपनि त्यस अनुपातमा अप्रेशन थियटर, पोष्टअप वेडलगायतका साधन स्रोत र पूर्वाधार नहुँदा बिरामीहरुले सहज रुपमा उपचार सेवा पाउन सकेका छैनन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल अस्पतालको रुपमा रहेको भेरी अस्पताललाई नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममार्फत ५ सय वेड क्षमताको विशिष्टकृत अस्पताल बनाउने घोषणा गरेको थियो ।

विशिष्टकृत अस्पताल बनाउने घोषणा भएपछि विशेषज्ञ डाक्टर थपिएपनि अन्य स्राधन स्रोत र भौतिक पूर्वाधार बढाउने काम सुस्त छ ।

भेरी अस्पताल परिसरमै करिब ३४ करोडको लागतमा २ सय ४० बेडको सुविधासम्पन्न भवन निर्माण भइरहेको छ । नयाँ भवनमा ३ बेड क्षमताको अप्रेशन थियटर निर्माण भएपछि बिरामीलाई पालो पर्खनुपर्ने समय केही हदसम्म घट्ने अस्पतालका प्रमुख डा. बद्री चापागाईंले बताए ।

भेरी अस्पताललाई ५ सय बेडको अस्पताल बनाउने घोषणा गरिएको तीन वर्ष बितिसके पनि हाल १ सय ६२ बेड मात्रै संचालनमा छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ