२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ वर्षः स्नातकका ४ र स्नातकोत्तरका २ विधामा अध्ययन सुरू

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ वर्षः स्नातकका ४ र स्नातकोत्तरका २ विधामा अध्ययन सुरू


काठमाडौं—मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले दोस्रो वार्षिकोत्सव मनाएको छ । शुक्रबार दोस्रो वार्षिकोत्सव मनाउँदैं गर्दा दुई वर्षमै प्राप्त गरेको शैक्षिक उपलब्धिलाई सन्तोषजनक मान्न सकिन्छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर शाहका अनुसार स्थापनाको पहिलो वर्षमा चिकित्सा शिक्षाका स्नातक तहका ४ वटा कार्यक्रम संचालन गर्ने अनुमति पाएर अध्ययन—अध्यापन पनि सुरु गरिसकेको छ । अध्ययन अनुमति पाएका विषयमा बिएस्सी नर्सिङ, बिएन नर्सिङ, विपिएच र विएमएलटी रहेका छन् । दोस्रो वर्षमा चलिरहेका ती कार्यक्रमहरु दुई ब्याच गरी ८१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रतिष्ठान स्थापना भएको दुई वर्ष पनि नपुग्दै चिकित्सा शिक्षा आयोगले पनि प्रतिष्ठानलाई विश्वास गरेको देखिन्छ । आयोगले यही वर्षदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर पढाउनलाई पनि प्रतिष्ठानलाई अनुमति दिएको छ ।

पिजी अध्ययनका लागि प्रतिष्ठानले स्त्री तथा प्रसुति रोग विशेषज्ञता अध्ययन गराउन १ सिट र बाल रोग अध्ययन गराउन १ सिट गरी दुई सिट पाएको छ । ‘स्थापनाको छोटो समयमा नै हामीले अध्ययन—अध्यापन गराउने वातावरण बनाएका छौं,’ शिक्षाध्यक्ष डा. शाह भन्छन्, ‘यसले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सहयोग पु¥याउने विश्वास छ ।’

प्रतिष्ठानले अध्ययन—अध्यापनको दायरा बढाउन प्रदेशअन्तर्गतका अस्पतालहरुसँग पनि सम्झौता गरेको उनले जानकारी दिए । प्रतिष्ठान स्थापना भएपछि मधेश प्रदेश सरकारले जनकपुर प्रादेशिक अस्पताललाई प्रतिष्ठानको मुख्य शिक्षण अस्पतालको रुपमा हस्तान्तरण गरेको छ । प्रतिष्ठान आफैले गुठी संस्थानसँग ३० वर्ष भोगचलनको लागि १८ विघा १२ कठ्ठा जग्गासमेत प्राप्ति गरिसकेको छ ।

त्यसैगरी, कोभिड—१९ को समयमा कोभिड अस्पतालको रुपमा प्रयोग भएको मणिपाल भवनलाई प्रतिष्ठानको अस्पतालमा नभएका वा कम भएका सेवा विस्तार गर्ने तयारीमा रहेको प्रतिष्ठानले जनाएको छ । यो अवधिमै प्रतिष्ठानले युके हुडार्सफिल्ड विश्वविद्यालयसँग रिसर्च कार्यक्रम गर्ने सम्झौता भएको छ भने लिथुनिया भिलिनियस विश्वविद्यालयसँग विद्यार्थी एक्सचेन्ज सम्झौता भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ