२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै

१५ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै


सरकारले फागुन ११ गतेदेखि देशका १५ जिल्लामा हात्तीपाइलेको औषधि खुवाउने भएको छ । शुक्रबार दिउँसो काठमाडौँमा राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम (२०७९) बारे जानकारी कार्यक्रम आयोजना गर्दै उक्त कुराको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक दिपेन्द्र रमण सिंहले यसवर्ष झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके र कैलालीमा यी औषधिहरु खुवाइने जानकारी दिएका हुन् ।

हात्तीपाइले रोग सम्बन्धी महत्त्वपूर्ण जानकारी
हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै हुन्छ जुन परजीवी हो र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका असरहरू (जस्तै हात्तीपाइले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन । धेरैजसो सङ्क्रमण लक्षण बिनाको हुन्छ जसबाट समुदायका अन्य व्यक्तिहरूलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रूपमा निको हुनका लागि आम औषधि सेवन अभियान मार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न जरुरी छ ।

हात्तीपाइले रोगको परजीवी मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा सञ्चालन गर्ने बार्षिक आम औषधि सेवन कार्यक्रममा गई, वर्षको एक पटक, आम औषधी सेवन कार्यक्रम आफ्नो जिल्लामा सञ्चालनमा रहेसम्म लगातार हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने र अरूलाई पनि गराउने ।

यो रोग बाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरू प्रयोग हुन्छन् । यी औषधिहरूले हात्तीपाइले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउँछ ।

यो औषधि को सेवन ले हात्तीपाइले रोग नलागेकाहरूलाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा हात्तीपाइले रोगका लक्षणहरू नदेखिए पनि रोगका परजीवीहरू शरीरमा हुन सक्छन् र औषधि अहिले खायो भने ती परजीवीहरू मर्छन् र भविष्यमा रोग देखिँदैन । दोस्रो कुरा औषधी सेवनका कारण तपाइको शरीरमा भएका हात्तीपाइलेका परजीवीहरू अरू स्वस्थ मानिसको शरीरमा सर्दैनन् ।
तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजीवीहरू छन् र उहाँले औषधि सेवन गरेमा लामखुट्टेले टोके तापनि तपाइको शरीरमा ती परजीवीहरू उहाँबाट सर्न सक्दैनन् ।

यो औषधि कस कसले खानुपर्छ र खान हुँदैन ?
यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा यो औषधि खान योग्य सबैले खानुपर्दछ । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिन सम्मका सुत्केरी, छारे रोग को समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका बिरामीहरू र मिर्गौला रोगको लागि डायलिसिस जस्ता जीवन भर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरू ।

यो रोग विरुद्धको औषधि कसले दिन्छ?
आम औषधि सेवन कार्यक्रम लागु भएका जिल्लाहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले तपाईँको घर नजिकैको बुथमा तथा घर भेटमा औषधि खुवाउँछन् ।

यो औषधि कहिले खाने त ?
आउँदो २०७९ फाल्गुण महिनाको ११ गते देखि ।
यो औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरू छन् की ?
यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । त्यसो भएमा औषधिले प्रभावकारी रूपमा काम गर्दै छ भन्ने बुझ्नु पर्छ । ती लक्षणहरू केही घण्टामा आफैँ हराएर जान्छन् । केही गरी लक्षणहरू लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ