काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा. जनिथ सिंह घाइते भएका छन् । शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
वीर अस्पतालमा निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतकाअनुसार डा. सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउन लागेका थिए । बाटोमा सुरक्षामा खटिरहेका प्रहरीलाई आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दैं कार्ड देखाउँदा —देखाउँदैं पनि उनको कार्ड खोसेर लाठी चार्ज गरिएको जानकारी पाएको डा. बस्नेतले बताए ।
‘राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा ट्रमा चिकित्सक डा. जनिथ माथि लाठी चार्ज भएको जानकारी आएको छ,’ उनले भने, ‘कार्ड देखाउँदा देखाउँदैं पनि लाठी चार्ज हुनु दुखद् घटना हो । म पनि बाहिर नै थिए । अब अस्पताल जादैंछु ।’ उनले घटनाबारे विस्तृत जानकारी आफूले पाइनसकेको बताए ।
घटनापछि अहिले चिकित्सक र प्रहरीका उच्च अधिकारीहरु छलफल चलिरहेको छ ।