काठमाडौं—नेपालको सबैभन्दा पूरानो पेशागत संगठन नेपाल मेडिकल एशोसिएसन (एनएनए) को नयाँ कार्यसमिति चयनका लागि काठमाडौं उपत्यकामा मतदान जारी छ । बिहीबार विहान ९ बजेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उपत्यकाको मतदान सुरु भएको हो ।
साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । नेपाल चिकित्सक संघको निर्वाचन समितिकाअनुसार काठमाडौं उपत्यकामा १९, २० र २१ गते तीन दिन विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।
यसअघि पहिलो चरणमा एनएमएको उपत्यका बाहिरका १६ शाखामा ६ र ७ माघमा मतदान सम्पन्न भइसकेको छ । निर्वाचन समितिकाअनुसार उपत्यका बाहिरका १६ शाखामा ३ हजार ६ सय ५० मत खसेको छ ।
सबैभन्दा बढी मतदाता रहेको उपत्यकालाई कार्यसमितिको निर्वाचनको निर्णायक मानिन्छ । उपत्यकामा झण्डै ९ हजार मतदाता छन् ।
एनएमएमा नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक प्यानलबाट डा. अनिल कार्कीको प्यानल चुनावी मैदानमा छ । यसैगरी, डा. सन्तोष पौडेलको नेतृत्वमा पेशागत समावेसी प्यानल चुनावी प्रतिस्पर्धामा रहेको छ ।
डा. शिवजी लम्साल भने स्वतन्त्र प्यानल बनाएर एनएमएको अध्यक्षसहितका पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।