काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गर्ने बताएका छन् । आइतबार नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने यस्तो बताएका हुन् ।
‘नर्सहरूले ८/१० हजारमा काम गर्नुपर्ने स्थिति रहेको भन्ने जान्दा यो भन्दा भयावह र कहालीलाग्दो कुरा अरू हुनै सक्दैन् । यो अत्यन्त चिन्ताको विषय हो, यसरी न्यूनतम पारिश्रमिक, तलब भत्ता पनि नदिईकन काममा लगाउने र श्रम शोषण गर्ने कुरा कुनै पनि मूल्यमा उचित मान्न सकिँदैन, त्यस्ता स्वास्थ्य संस्थाको मन्त्रालयले राम्रो ढङ्गले मूल्याङ्कन गर्दै स्वास्थ्य मन्त्रालयले आवश्यक कारबाही गर्नेछ,’ उनले भने ।
‘न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थाबारे केही प्रमाण या तथ्याङ्क फेला परेमा ती संस्थाहरूलाई नवीकरण नगर्नेदेखि खारेज गर्नेसम्मका कारबाही गरिने र यसमा सम्झौता गरिने छैन’ उनले थपे, ‘मुस्कानसहितको सेवा प्रदान गर्नुलाई तपाईँहरूले मुख्य कुरा मान्नुभएको छ त्यो मान्नुपर्छ पनि किनकि आधा बिमारी त तपाईँहरूले दिनुभएको हेरचाहले नै निको पार्छ’ । नर्सहरूमा धैर्यता चाहिन्छ किनकी थोरै बेवास्ताले पनि कसैको ज्यान गुम्न सक्छ ।’
नर्सहरूको काँधमा धेरै ठूलो अभिभारा रहेको बताउँदै उनले नर्सहरूको वृत्ति विकासका सबै क्षेत्रहरूलाई फराकिलो पार्नका लागि कहाँ के गर्नुपर्छ भन्ने सुझाव लिएर अध्ययन गरेर नर्समैत्री कानुन या नियम बनाउनको लागि आफ्नो सम्पूर्ण साथ रहने जनाए ।
उनले भने, ‘मैले मन्त्री नियुक्त भएको पहिलो दिनमै न्यूनतम स्वास्थ्य सेवा मापदण्ड लागु गरिनेछ भनेर पहिलो निर्णयमा हस्ताक्षर गरेको थिएँ । नर्सहरूको समस्याहरू पनि त्यसमा उल्लेख गरिएको छ । त्यसैलाई सहजताका लागि ओएनएम बनाउँदै छौँ र आवश्यकताअनुसारको जनशक्ति व्यवस्थापन पनि गर्छौं ।’
त्यस्तै संसारको कुनै पनि ठाउँमा गएर एउटा योग्य नर्सले सेवा दिएर रेमिट्यान्स भित्र्याएर देशको लागि केही गर्छन् भने त्यसलाई स्वागत गर्न सकिने उनले बताए ।