काठमाडौं – केही दिनयता बाँकेमा फैलिएको दादुराको कारण त्यहाँका बालबालिकालाई दादुराको खोप नलगाइएका कारण फैलिएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन् ।
प्रकोप फैलिएको क्षेत्रमा दुई दिन अवलोकन गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दादुराको खोप लगाउनको लागि अभियान नै चलाउने बताए ।
दादुराको खोप लगाउन नमानेका कारण दादुराको प्रकोप फैलिएको पाइयो उनले भने, ‘हामी आएर नागरिक समाजका व्यक्ति, धार्मिक अगुवा, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नेताहरूसँग छलफल गरेर दादुराका खोप अभियान चलाउने विषयमा सहमत भएका छौँ र सबैले खोप लगाउने विषयमा पनि सहमत भएका छौँ ।’
मन्त्री गिरीले नेपालगन्ज उपमहानगरपालिका ५ मा दादुरा फैलिएको गाउँमा आइतबार स्थलगत अवलोकन गरेका थिए । उनले खोप अभियानमा संलग्न भएका स्वास्थ्यकर्मीहरुलाई पनि हौसला तथा निर्देशन दिएका थिए ।
काठमाडौं पत्रकार सम्मेलनमा भेरी अस्पतालको पूर्वाधार र जनशक्ति बढाउन सहयोग गर्ने र स्वास्थ्य बिमालाई अनिवार्य गरी सबैलाई त्यही मार्फत उपचार गर्ने प्रणालीको विकास गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।