काठमाडौं – प्रधानमन्त्री दाहालले स्वास्थ्यमा अब क्रान्ति ल्याउने बताएका छन् । उनले आफू यो पटक मन्त्री प्रधानमन्त्री पदका लागि मात्र नभएर केही गरेर देखाउनको लागि प्रधानमन्त्री भएको बताउँदै उनले भने, “मैले केही नयाँ कुरा गर्छु भनेको छु, त्यही अनुसार स्वास्थ्यमा पनि क्रान्ति गरेर ल्याउँछौ र मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा मिर्गौला मात्र नभएर कलेजो प्रत्यारोपणलाई पनि यही गतिमा अगाडी बढाउनको लागि राज्यले गर्नेछ ।”
उनले सातै प्रदेशबाट मिर्गौला प्रत्यारोपणको वातावरण बनाउन सरकार तयार रहेको पनि बताए । राष्ट्रिय प्रत्यारोपण प्रतिष्ठान बनाउनको लागि सरकारले जग्गा उपलब्ध गराउनेछ ।
त्यस्तै, कार्यक्रममा उपस्थित स्वास्थ्य मन्त्री गिरीले हालसम्म गरेका प्रत्यारोपणहरू ९९ प्रतिशतले सफल हुनु गौरवको कुरा रहेको बताउँदै हाल ४३ दिनमा एउटा मिर्गौला प्रत्यारोपण भएकोलाई परिवर्तन गदै दैनिक एउटा मिर्गौला प्रत्यारोपण गर्ने वातावरण बनाउने जनाएका छन् ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सचिव रोशन पोख्रेलले प्रत्यारोपणका कार्यका लागि हाल सय बेड मात्र उपलब्ध भएकोमा समस्या भएकोले यो अभावलाई टार्दै ३ सयदेखि ५ सय बेडसम्म सञ्चालन गर्नको लागि सरकारले बेड उपलब्ध गराउनुपर्ने बताए ।