विराटनगर – विराटनगरस्थित कोसी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको छ ।
अस्पतालले बिहिबार छानविन कमिटि गठन गरेकोले अनुसन्धान नसकिदासम्म डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाएको हो । उनीहरुलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।
अस्पतालका बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वको तीन सदस्यी कमिटि बिहीबारनै गठन भइ छानविन सुरु भएको छ । समितिमा अन्य दुई जनामा बालरोग विशेषज्ञ डा. सुर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानविन समिति गठन भएको छ ।
छानविन समितिले सात दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन बुझाउने सूचना अधिकारी नेपालले जानकारी दिए । छानविनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाही देखिए कारवाही गरिने उनले बताए ।
बुधबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेबद्वय माझी र अधिकारीको ड्युटी रहेको थियो ।
बुधबार विहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए ।
डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरि मृत घोषणा गरेपछि बुधबार अस्पताल दिनभरी तनाबग्रस्त बनेको थियो । चिकित्कसकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ ।