काठमाडौं—पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा एक डाक्टर दम्पत्ति पनि सवार रहेको पाइएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९एन-एनएनसी एटीआर विमान विहान १०ः५१ मा पोखरा सेती खोचमा दुर्घटनामा परेको थियो ।
उक्त विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको छ । उनीहरु आफ्नो सानो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले हिजो र अस्ति ओटी गरेर एक दुई दिन विदा बस्न चाहेको आफूलाई बताएको जानकारी दिए । ‘सुशीलले अस्ति इएचएसमा शल्यक्रिया गरेका थिए । हिजो इमर्जेन्सीमा शल्यक्रिया गर्दा कुराकानी भएको थियो,’ डा. मरासिनीले भने, ‘म एक दुई दिन बिदामा बस्छु भनेर पनि भनेका थिए ।’ शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. मरासिनी र डा. श्रेष्ठसँगै सहभागी भएका थिए ।
पोखरामै रहेका ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेल पनि डा. श्रेष्ठ दम्पत्ति यतिको उक्त जहाजबाट पोखरामा आउँदैं गरेको जानकारी पाएको बताए । ‘मैले पनि उहाँहरु सोही जहाजबाट पोखरा आउँदैं गरेको जानकारी पाएको थिए,’ उनले भने, ‘थप केही भन्न सकिने अवस्था छैन । घरपरिवारमा सबै आत्तिएको अवस्था छ । उहाँको बुवा मसँगै हुनुहुन्छ ।’
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए । पोखरा स्थायी घर भएका डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । उनी पोखराको गण्डकी बोर्डिङ स्कुलका उत्पादन हुन् ।
यतिको विमानमा चालक दलका ४ जना सदस्यसहित ७२ जना यात्रु सवार थिए ।