काठमाडौं—नेपाल मेडिकल काउन्सिलले आधुनिक चिकित्सा विद्या हासिल गरेर बिरामी हेर्ने काउन्सिलमा दर्ता भएका चिकित्सकको नामको अगाडि डा. (मेड) लेख्ने विषयमा छलफल चलाउने भएको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीकाअनुसार अन्य विभिन्न विषय पढेका व्यक्तिहरुले पनि डा. लेखेका कारण बिरामी झुक्किन थालेपछि काउन्सिलले यो छलफल चलाउन लागेको हो ।
‘जो पायो त्यहीले डाक्टर लेखे । फिजियो थेरापिष्ट, आँखा टेक्नीसियन, रेडियोग्राफर, अल्ट्रासाउण्ड गर्नेले पनि डा. लेखे,’ रजिष्ट्रार डा. अधिकारीले भने, ‘यो नियन्त्रण गर्नका लागि स्वास्थ्य व्यवसायी परिषदलाई हामीले गैर चिकित्सकलाई डा. नलेख्ने अनुरोध गरेका थियौं । तर, सुनुवाई नभएपछि हामीले नै यो छलफल चलाएका हौं ।’ उनले विदेशमा पनि आधुनिक चिकित्सा विद्या अध्ययन गरेका रजिष्टर्ड चिकित्सकहरुले डा. (मेड) लेख्ने चलन रहेको उल्लेख गरे ।
त्यसका लागि काउन्सिलले चिकित्सकहरुलाई सूचना समेत पठाइसकेको छ । ‘उपचार र निदानमा संलग्न स्वास्थ्यकर्मीले आफ्नो नामका अगाडि चिकित्सक वा डाक्टर उपाधी लेखेका कारण उपचार गर्ने चिकित्सक र गैरचिकित्सकको उपाधि प्रयोग तथा नियमनमा अन्योल देखिएकोले बिरामीको उपचारमा संलग्न आधुनिक चिकित्साको चिकित्सकको नामको अगाडि Dr. (med)। लेख्न उपयुक्त हुने र यसका लागि सरोकारवालाहरुसँग थप छलफल समेत चलाउने निर्णय भए बमोजिम यसमा तपाईको रायका लागि अनुरोध गरिएको छ,’ काउन्सिलले चिकित्सकलाई पठाएको सूचनामा छ ।
