काठमाडौं—नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा पेशागत समावेसी समूहकोतर्फबाट अध्यक्षका उम्मेदवार रहेका डा. सन्तोष पौडेलले नेपाल चिकित्सक संघभन्दा नाइ संघ बलियो भएको टिप्पणी गरेका छन् । चुनावी अभियानका क्रममा चितवन पुगेका उनले चिकित्सकहरुसँगको एक छलफलमा चिकित्सक संघको अहिलेसम्मको नेतृत्वले चिकित्सकका सवालहरु सम्बोधन गर्न नसकेको भन्दैं उक्त कटाक्ष गरेका छन् ।
आफूले १४ वर्ष ६ महिनाअघि १३ हजार ६ सय रुपैयाँमा सरकारी जागिर सुरु गरेको स्मरण गर्दै उनले त्यो बेला २० रुपैयाँमा कपाल काट्ने गरेको बताए । ‘मैले १३ हजार ६ सयमा सरकारी जागिर खाएको त्यो बेला नाइले २० रुपैयाँमा कपाल काट्थे । म यत्रो वर्ष लगाएर १० औं तह भएको छु खातामा बल्लतल्ल १४ वर्ष ६ महिना भयो मैले जागिर खाएको ५६ हजार पुग्यो । ४ गुणा बढ्यो, ’ उनले भने, ‘म स्पेशल शैलुङमा कपाल काटदिन्, सामान्य कपाल काट्ने पसलमा जान्छु । अस्ति कपाल काट्दा २०० रुपैयाँ अब हिसाब गरौं २० रुपैयाँको चार गुणा बढ्दा ८० हुन्छ ।’
डा. पौडेलले यो अवस्था आउनु र चिकित्सकहरुका सवाल सम्बोधन हुन नसक्नु चिकित्सक संघभन्दा नाइ संघ बलियो भएको देखिएको बताए । ‘हामी बढेनौं के ? हामीभन्दा नाइ संघ बलियो छ नि के कुरा गर्नु,’ उनले थपे, ‘हाम्रो चिकित्सक संघ न चिकित्सकको हितमा बोल्या छ न सिष्टमको हित गर्या छ ।’
उनले संघको नेतृत्वबाट सबैं चिकित्सकहरुको चिकित्सकको हित गर्ने प्रणालीको अपेक्षा गरेको तर त्यो अपेक्षा पूरा हुन नसकेको गुनासो समेत गरे ।
‘हामी चिकित्सकहरुलाई सिष्टम यति राम्रो बनाइदेओस । चिकित्सक संघको चुनाव लड्न छोड्दिऔं बुढाहरु लड्छन् भन्ने वातावरण पनि भएन नि,’ उनले भने, ‘किनभने हाम्रै कन्सर्न बढी भयो । बुढाहरुको कन्सर्न होइन्, युथहरुको कन्सर्न हो भन्छु म । हाम्रो एजेण्डा नै सल्भ भएको छैन । स्यालरीको इस्यु त हामीलाई रैछन नि त पीडा । बुढाहरुको त ४—५ ठाउँमा भ्याइ—नभ्याइ छ ।’