सामान्यतयाः कुनै पनि प्रतिकूल घटना वा परिस्थितीका कारण मानिसहरु आत्तिनु वा डराउनु सामान्य हो । तर, कतिपय मानिसहरुमा विना कारण आत्तिने, डराउने, शंका लाग्ने, छटपटी हुनेलगायतका समस्याहरु देखिने गर्छ ।
सामान्य एन्जाइटी छट्पटी प्रायः सबैमा हुने गर्दछ । तर, यो प्रक्रिया नियमित भइरहन्छ र यसले दिनचर्यामा पनि निकै प्रभाव पारिरहन्छ भने यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यस्ता लक्षणहरूले गर्दा मानिसको दिनचर्यामा असर पर्ने गर्दछ ।
आफ्नो काममा ध्यान दिन सक्दैनन् । एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका हुन्छन् । जनरलाइज्ड, सोसल, सेपरेसन, एगोरोफोबिया, प्यानिक डिसर्अडर ,कन्भजन डिसअर्डर आदि ।
एन्जाइटीका सामान्य लक्षणहरु
- अनायासै भय पैदा हुने ।
- धड्कन बढ्ने, श्वासप्रश्वास छिटो—छिटो हुने ।
- निन्द्रा नलाग्ने लागिहाले पनि बीच—बीचमा बिउँझिने फेरि निन्द्रा लाग्न गाह्रो हुने ।
- हातखुट्टा काप्ने पसिना आउने टाउको दुख्ने छटपटी हुने ।
- बेहोस होलाजस्तो हुने ।
- आत्तिने साथै आत्मविश्वास घट्ने ।
- थाक्ने कमजोर महसुस हुने ।
एन्जाइटी डिसअर्डर बाट बच्न के गर्ने ?
एन्जाइटीबाट बच्नका लागि अचुक उपाय नभएतापनि केही सावधानीहरु हामीले अपनायौँ भने यसले एन्जाइटी हुने सम्भावनालाई कम गर्छ ।
के गर्ने
- सन्तुलित भोजन खाने ।
- दैनिक व्यायाम गर्ने ।
- जाँडरक्सी चुरोट वा लागु पदार्थको सेवन नगर्ने ।
- मेडिटेसन गर्ने ।
- समयमा सुत्ने, समयमा उठ्ने ।
- कुनै पनि समस्याको पहिचान गर्ने र लक्षण महसुस भए सुमयमा नै डाक्टरको परामर्श लिने ।
एन्जाइटीको उपचार के हो ?
मानसिक स्वास्थ्य विशेषज्ञसँगको नियमित परामर्श र उपचारले यो रोग निको हुन्छ । सामान्य एन्जाइटीका लागि थेरापी वा मनोपरामर्शले काम गर्छ ।
बिरामीलाई निकै गाह्रो महसुुस हुने (जटिल खाले रोग) अवस्थामा औषधी लिनुपर्ने पनि हुन सक्छ । यस्तो समस्यालाई सामान्य सोच्दै बस्नाले पछि गम्भीर समस्या पनि निम्त्याउन सक्छ । साथै, सबैले आफ्नो दिनचर्या सुधार्दै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।
प्रस्तुतिः भूमिका विष्ट