काठमाडौं–तलब खुवाउन नसक्ने भन्दै स्थानीय तहले आफैले मागेका कर्मचारी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउन थालेका छन् । २ वर्षअघि स्थानीय तहले आफूलाई स्वास्थ्यका कर्मचारी आवश्यक भएको सिफारिस दिएर समायोजन मिलान गरी आएका कर्मचारीलाई पुनः तलब खुवाउन नसक्ने भन्दै स्वास्त्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउन थालेका हुन् ।
पछिल्लो समय आफूहरुलाई ११ जना स्वास्थ्यका कर्मचारी बढी भएको भन्दैं धनुषाको मिथिला बिहारी नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई फिर्ता पठाइदिएको छ ।
उसले फिर्ता पठाएको पत्रमा ०७८/०७९ देखि दरबन्दी नभएका कर्मचारीको तलब संघले नपठाएपछि आफूहरुको आन्तरिक स्रोतबाट तलब खुवाउन नसकेका कारण फाजिलमा रहेका कर्मचारी फिर्ता पठाएको उल्लेख गरेको छ ।
धनुषाकै लक्ष्मीनिया, मुखियापट्टी र सुर्खेतको वीरेन्द्रनगरले पनि समायोजन मिलान भइ आएका स्वास्थ्यकर्मी फिर्ता पठाएका छन् ।
लक्ष्मीनिया नगरपालिकाका १०, मुखियापट्टी मुसरनिया गाउँपालिकाका ५ जना र विरेन्द्रनगर नगरपालिका सुर्खेतका ५१ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिने भन्दै फिर्ता गरिएको जानकारी आएको नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय अध्यक्ष उज्जवलकुमार शर्मााले बताए ।
‘अहिले चार वटा पालिकाले समायोजन मिलान भइ गएका स्वास्थ्यकर्मी फिर्ता गरेको जानकारी आएको छ,’ शर्माले भने, ‘२ वर्षअघि आफैले स्वास्थ्यकर्मी आवश्यक छ । समायोजन भएर आउनु भनेर सिफारिस दिने अहिले राख्न सक्दिनँ भन्नु स्थानीय तहको गैरजिम्मेवारी हो ।’
यसअघि बाँकेको कोहलपुर नगरपालिकाले पनि फिर्ता पठाएको थियो । सबैतिरबाट दबाब आएपछि त्यो भने रोकिएको थियो ।