२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालका चिकित्सकले पाएनन् तलब, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा 

कोशी अस्पतालका चिकित्सकले पाएनन् तलब, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा 


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत विकास समितिको करारमा नियुक्त भएका चिकित्सकसहित १२५ जना कर्मचारीहरूले तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आइतबार बिहान एक घण्टा अस्पताल प्रशासन अगाडी धर्ना दिएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म ओपिडी सेवा बन्द गरेर विरोध गरेका हुन् ।

विकास समितिको करारमा नियुक्त भएका ३० जना चिकित्सक,  १६ जना स्टाफ नर्स, १० जना हेल्थ असिस्टेन्ट, १७ जना अनमी, ६ जना फार्मेसी सहायक, ६ जना ल्याब टेक्नीसियन, ४० जना कार्यालय सहयोगी, २ जना खरिदार,  २ जना मुखिया, २ जना चालकसहित १ सय २५ जना कर्मचारीले कार्तिक र मङ्सिर महिनाको तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्  ।

दुई महिना बितिसक्दा पनि विकास समितिको करारमा नियुक्त भएका स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको अस्पतालका फिजिसियन डा. रोशन खड्काले बताए । ‘काम गरेको दुई महिना पुरा भइसक्यो ।

अहिलेसम्म तलब पाएको छैन । करारमा नियुक्त भएका कर्मचारीले मात्र तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ,’ उनले भने, ‘आइतबार साङ्केतिक रूपमा आन्दोलनमा उत्रिएका छौँ ।’ तत्काल तलब पाउने व्यवस्था अस्पतालका मेसुदेखि प्रशासनले नबनाए चरणबद्ध आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरिएको उनले बताए ।

सोमबार कालोपट्टि बाँधेर बिरामीको उपचार गर्ने र मङ्गलवार पनि तलब दिने वातावरण नभए अस्पताल परिसर बाहिर बसेर बिरामीको उपचार सेवा सुचारु गर्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।
अस्पतालले विगत सात वर्षदेखि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता दिएको छैन । ‘भत्ता पाउनु त परको कुरा भयो । काम गरेको सेवा सुविधा लिन पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ