काठमाडौं—एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर डा. नवल पजियारले दोस्रो विश्व कीर्तिमान राखेका छन् । यसअघि उनले २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डसमा नाम लेखाएका थिए ।
पेशाले फिजियोथेरापिष्ट डा. पजियारले दुई वटा शीर्षकमा ‘गिनिज बुक अफ द वर्ल्समा रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका छन् । मेमोरी पावरमा दुई पटक रेकर्ड राख्ने संसारकै पहिलो नेपालीमा उनको नाम दर्ता भएको छ ।
डा. पजियार संसारकै धेरै मेमोरी राख्न सक्नेमध्ये व्यक्तिभित्र पर्छन् । उक्त विधामा गिनिज बुकको रेकर्ड र गुगलमा भेटिने नाम आफ्नो मात्रै भएको सुनाए । ‘मैले नेपाललाई विश्वसामु चिनाउने काम गरेको छु । ज–जसले बजारमा भ्रम फैलाएका छन् तिनीहरुलाई बोलाएर प्रमाणपत्र, क्षमता, सीपबारे पत्रकारले सोध्नुप¥यो,’ उनले भने । आफू मेमोरी किङ भएको असत्य भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै आफ्नो सम्पर्कमा आए आफैले शब्द स्मरण गर्ने तरिका सिकाइदिने पनि बताए ।
जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका पजियारले कतिपय व्यक्तिहरुलाई जनतामाझ झुटो प्रचार नगर्न र असत्य कुराको भ्रम नफैलाउन आग्रह गरे । कतिपयले आफ्नो व्यवसाय बढाउनको लागि ‘म मेमोरी ट्रेनर’ हो भनेर भ्रम फैलाएको उनले टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले गिनिज बुक संसारभरको रेकर्डहरुको संगालो भएको बताउँदै मेमोरी पावरले राम्रो निर्णय गर्न प्रेरित गर्ने बताए । ‘त्यो रेकर्डको संगालोमा आफूलाई समाविष्ट गर्ने लक्ष्य लिएर काम गर्नेहरुका लागि त्यो उपलब्धी आफैमा महत्वपूर्ण हुन्छ । विशिष्ट कार्य र योगदान गर्नसक्ने, विज्ञता हासिल गर्नसक्ने व्यक्तिहरुबाट समाजले अपेक्षा पनि गरेको हुन्छ,’ उनले भने ।
उक्त रेकर्डले एक व्यक्तिको आत्मसन्तुष्टि भन्दापनि समूदायको योगदानमा कसरी ढाल्न सकिन्छ भन्ने सन्दर्भमा विज्ञहरुले सोचिदिने हो भने समाज पनि लाभान्वित हुने धारणा राखे । प्रविधिको प्रयोगले दिमाग नै डल बन्दै गएको उनको भनाइ थियो । पोखरेलले प्रविधिले दिमाग बिग्रदैं गएको र चुनौती थपिएको अवस्थामा मेमोरी पावर बढाउन त्यही किसिमको परिवर्तनका लागि डा.पजियारको क्षमता महत्वपूर्ण रहेको बताए ।