काठमाडौं—वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. चन्दा कार्की प्रतिनिधीसभा सदस्य बन्ने निश्चित भएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधीसभामा पठाउने डा. कार्कीसहितका १३ जनाको नाम टुंगो लगाएको छ ।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले पार्टीले समानुपातिकमा पाएको सिटमा डा. कार्की खस आर्य कोटाबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको बताए । यस्तै, समानुपातिकबाट जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ पनि प्रतिनिधीसभा सदस्यका लागि सिफारिस भएका छन् ।
यससँगै विभिन्न अड्कलबाजीहरुकाबीच डा. कार्कीको संघीय संसदयात्रा निश्चित भएको हो । नेपालको स्वास्थ्य शिक्षा र सेवालाई नजिकबाट बुझेकी उनको संसदयात्रा सुरु भएसँगै स्वास्थ्य र शिक्षाका सवालहरु संसदमा प्रखर रुपमा उठ्ने अपेक्षा गरिएको छ ।
को हुन डा. कार्की ?
३६ वर्षदेखि अनवरत रुपमा बिरामीको सेवामा संलग्न प्रा. डा. कार्कीले चिकित्सक मात्रै होइनन्, कुशल प्रशासक र एजुकेटरका रुपमा पनि बेग्लै छवि बनाएकी छन् । मेडिकल शिक्षाको सफल प्रोजेक्ट मानिएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को झण्डै डेढ दशक शैक्षिक र प्रशासनिक नेतृत्वको बागडोर उनले कुशलतापूर्वक सम्हालेकी थिइन् ।
प्रा.डा. कार्कीको जन्म सन् १९५८ मा महोत्तरीको औरही नैनीगौरी गाउँमा भएको हो । उनका बुवा शिवमानसिंह भण्डारी र आमा चन्द्रादेवी भण्डारी खेती किसानीमा संलग्न थिए । उनका आठ भाइबहिनीमध्ये सुरुमा चार दिदीबहिनीमा उनी कान्छी हुन् । त्यसपछि उनका चार वटा भाइ छन् ।
कार्कीले सन् १९८३ मा भारतबाट एमबीबीएसको अध्ययन पूरा गरेकी हुन् । उनले सन् १९८७ मा डिप्लोमा इन गाइने अब्स्ट्याट्रिक्स (डिजिओ) बंगलादेशको ढाकाबाट गरिन् । गाइने अब्स्टयाक्ट्रिसमा एमडी भने उनले त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थान (आईओएम)बाट गरेकी हुन् । उनी गाइने अब्स्टयाक्ट्रिसमा नेपालबाटै एमडी गर्ने पहिलो ब्याचकी विद्यार्थी हुन् ।
त्यसबाहेक डा. कार्कीले थाइल्याण्डको रोयल कलेजबाट फेलोसीप गरिन् भने अमेरिकाबाट एफआईसिएस डिग्री हासिल गरेकी छन् । यसबाहेक बेलायतको रोयल कलेज अफ लन्डनले पनि सन् २०१९ मा एफआरसिओजी डिग्री दिएको छ ।
१५ वर्ष सरकारी सेवामा रहेर देशका दूरदराजका बस्तीहरुमा पुगेर बिरामी सेवामा सक्रिय रहेकी डा. कार्कीले सन् २००० मा सरकारी जागिरबाट राजीनामा दिइन् । त्यसपछि उनी काठमाडौं मेडिकल कलेजमा लेक्चररका रुपमा जागिर गर्न थालिन् ।
त्यहाँ उनी उप—प्राध्यापक, सह—प्राध्यापक हुँदै प्राध्यापक मात्र भइनन्, २१ वर्ष केएसीमा बिताउँदा विभागीय प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य हुँदै दुई कार्यकाल प्रिन्सिपल नै भइन् । यो अवधिमा उनको केएमसी ब्राण्ड निर्माणमा समेत उल्लेखनीय भूमिका रह्यो ।
पछिल्लो झण्डै ६ महिनायता भने भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीको आवद्ध रहेर सक्रिय छन् ।
विस्तृतमा पढ्नुहोस्