विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स भाइरसको नामले चर्चित रोगको नाम परिवर्तन गरेको छ । डब्लूएचओले यस भाइरसलाई ‘एमपक्स’ नाम दिएको हो ।
सन् १९७० मा बन्दी बनाइएको बाँदरमा यो रोग देखिएका कारण यसलाई ‘मंकीपक्स’ भनिएको थियो । तर, यो नामले विभेद दर्शाउने भन्दै चौतर्फी विरोध भएपछि यसको नाम परिवर्तन गर्न माग भएको थियो । सोही मागको सम्बोधन गर्दै यो भाइरसलाई विज्ञ, विभिन्न राष्ट्र तथा सर्वसाधारणबीचमा भएको लामो छलफलले ‘एमपक्स’ नाम दिएको हो ।
यो शब्द अंग्रेजी र अन्यभाषीले पनि सजिलै उच्चारण गर्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
शरीरमा राता फोकाहरु आउने, उच्च ज्वरो आउने तथा चिलाउनेजस्ता लक्षण भएको यो रोग सन् २०२२ मा सयभन्दा बढी देशमा फैलिएको र संक्रमणबाट करिब ५० जना भन्दा बढी मानीसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो भाइरस फैलिँदा २०२२ को जुलाईमा विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालसमेत घोषणा गरेको थियो ।