काठमाडौं—पुतलीसडकस्थित ‘मोहो’मा बिहीबार साँझ अबेर हेल्थआवाजले सम्पर्क गरेको थियो । साँझ अबेर भएकाले होला ‘मोहो’को फोन रिसिभ भएन । शुक्रबार विहान ९ बजे ‘मोहो’बाट फोन आयो । हामीले डेंगु परीक्षणका लागि होम कलेक्सन र शुल्कबारेमा जिज्ञाशा राख्यौं । १ हजार ६ सय रुपैयाँमा होम कलेक्सन र परीक्षण दुवै हुने जवाफ आयो ।
त्यसपछि हामीले थप जिज्ञाशा राख्यौं, ‘तपाईंहरुको आफ्नै ल्याब छ ?’
‘हाम्रो विभिन्न ल्याबहरुसँग सम्झौैता छ । ती ल्याबहरुमा हामीले नमुना पठाउँछौं,’ मोहोबाट जवाफ आयो ।
यस्तै, शुक्रबार विहान हामीले ‘हिडक’ (HeeDoc) मा सम्पर्क ग¥यौं । संखमूलमा रहेको ‘हिडक’बाट डेंगु परीक्षणका लागि नमुना सम्पर्क गर्न घरमै आउने र १ हजार २ रुपैयाँ पर्ने जवाफ पायौं । तपाईंको आफ्नै ल्याब छ ? भनेर जिज्ञाशा राख्दा विभिन्न ल्याबहरुको सहकार्य रहेको जानकारी प्राप्त भयो । यस्तै, होम कलेक्सनको काम गर्छ दरबारमार्गमा कार्यलय रहेको ‘इजी प्याथ ल्याब’ले पनि ।
यी तीन त प्रतिनिधी उदाहरण मात्रै हुन् । होम कलेक्सनका नाममा यस्तै बिचौलियाको भूमिका निर्वाह दर्जनभन्दा बढी अहिले काठमाडौंमा मात्रै सक्रिय छन् । विभिन्न प्रयोगशालाहरुसँग मोटो कमिसन लिएर फेसबुक र अनलाइनमार्फत होम कलेक्सन गर्ने अवैध ट्रेण्ड अहिले काठमाडौंमा भुसको आगोझै सल्किरहेको छ । यीमध्ये केही उधोग विभाग र केही कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता छन् भने केही न बिना दर्ता नै यस्तो काममा गरिरहेका छन् ।
कोभिड—१९ महामारीसँगै फैलिएको यो ट्रेण्ड नियांमक निकायहरु कानमा तेल हालेर बस्दा झन—झन झाँगिदैं गएको छ । कोभिड—१९ को संक्रमण उच्च रहेका बेला यस्ता संस्थाहरुले पिसिआरका लागि महंगो शुल्क लिएर घरमै स्वाब संकलन गर्थे । अहिले यिनीहरुको धन्दाको दायरा फेरिएको छ । अहिले धेरै यस्ता संस्थाले कोभिड—१९, डेंगु, भिटामिनलगायतका प्याकेज नै बनाएर होम कलेक्सन गरिरहेका छन् ।
‘मोहो’ नामक भारतीय स्वामित्वको कम्पनी वि.सं. २०७६ देखि नै होम कलेक्सनको अवैध धन्दा गरिरहेको छ । हेल्थआवाजले वि.सं. २०७७ मा कात्तिक २१ मा पिसिआर परीक्षणका नाममा होम कलेक्सन गरेर टिडियोको चर्को शुल्क असुल गरिरहेको भन्दैं समाचार प्रकाशित गरेको थियो । त्यसको दबाब सरोकारवाला निकायसम्म परेपछि टिडियो नाम परिवर्तन भएर ‘मोहो’ बनाइयो तर उसले होम कलेक्सनको अवैध धन्दा भने अहिलेसम्म रोकेको छैन ।
मानिसको जनस्वास्थ्यजस्तो गम्भीर विषयसँग प्रत्यक्ष जोडिएको नमुना संकलन घरबाटै गर्ने नाममा केही अवैध नाम मात्रैका ल्याब र होम कलेक्सन केन्द्रहरुले कानुन विपरित काम गरिरहेको छन् । तर, नियांमक सरकारी निकाय भने यसबारे बेखबर झै छन् । ‘एक स्याम्पलमा ७० प्रतिशतसम्म कमिसन लिन्छन्,’ एक ल्याब संचालक भन्छन्, ‘होम कलेक्सनका नाममा हुने यो अवैध धन्दाबाट उपभोक्ताले आर्थिक भारमात्रै खेप्नु परेको छैन् । नमुना सही रिपोर्ट आउँछ भनेर भर गर्न सकिने अवस्था पनि छैन् ।’ किनभने, रगतको नमुना संकलन गरिसकेपछि सामान्यतयाः ४ घण्टाभित्र प्रयोगशालामा पु¥याइसक्नुपर्छ । त्यो भन्दा ढिलो हुने अवस्था सिर्जना भएमा त्यहीअनुसारको तापक्रम मेन्टेन गर्नुपर्ने हुन्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता लोकबन्धु चौधरी भने अस्पताल र प्रयोगशाला नभएकाले स्वाब संकलन गर्न नपाउने बताउँछन् । ‘त्यसका लागि पनि एनपीएचलले अनुगमन गरेर सर्टिफिकेसन गर्नुपर्छ,’ मेडिकल ल्याब्रोटोरी टेक्नोलोजिष्टसमेत रहेका चौधरीले हेल्थआवाजसँग भने, ‘त्यसबाहेक संकलन केन्द्रमात्रै खोलेर नमुनाहरु संकलन गर्न पाइदैंन् । अस्पताल र ल्याब नभएको कुनै एजेन्टले स्वाब लिएर परीक्षण हुन्छ भन्ने अवैध हो ।’