काठमाडौं—विश्व मधुमेह दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले सचेतना सप्ताहको आयोजना गर्ने भएको छ । ‘मधुमेह सेवा पहुँच बढाऔं, सुरक्षित भविष्यका लागि मधुमेहबारे जानौं’ भन्ने मुल नाराका साथ प्रतिष्ठानले २५ कात्तिकदेखि १ मंसिरसम्म मधुमेहको आँखामा असर सम्बन्धी जनचेतना फैलाउन जनचेतना सप्ताहका विशेष कार्यक्रम आयोजना गरेको छ ।
जसमा अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण, आमसंचारका विभिन्न माध्यम रेडियो, टेलिभिजन तथा सामाजिक संजालको माध्यमबाट सामाग्रीहरु प्रचार—प्रसार गरिदैंछ । यसैगरी, २६ कार्तिकमा तिलगंगाबाट लैनचौर हुँदै स्वयम्भु र स्वयम्भुबाट टेकु, त्रिपुरेश्वर, नयाँ बानेश्वर हुँदै तिलगंगा सम्म साइकल ¥यालीको आयोजना, स्वयम्भु सामुदायिक आँखा केन्द्रमा मधुमेह भएका व्यक्तिहरुको निःशुल्क आँखा जाँचका साथै निःशुल्क लेजर उपचार र फण्डुस फोटोको सेवा प्रदान, २८ कार्तिकमा स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत आँखा पर्दा रोग विशेषज्ञ डा.रवा थापा, मधुमेह तथा इन्डोक्राइनोलोजिस्ट डा.दिपक मल्ल र डाइटिसियन रश्मि बजिमयले प्रस्तुती दिने कार्यक्रम छ ।
मधुमेहको आँखामा असर ‘डायवेटिक रेटिनोपेथी’ सम्बन्धि जनचेतना जगाउनका प्रतिष्ठानले सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा ‘डायवेटिक रेटिनोपेथी दिवस’ मनाउदै आएको छ । जसअन्तर्गत विगत १६ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ ।
आँखामा देखिने समस्याहरुमध्ये ‘डायवेटिक रेटिनेपेथी’ दृष्टिविहिन गराउने कारणहरुमध्ये एक प्रमुख कारण हो । मधुमेहका व्यक्तिहरुमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुन्छ भने अन्धोपनको समस्या २५ औं गुणा बढी हुने गर्दछ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई बिरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको बताइन्छ ।
यस्तै, मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव भएर दृष्टि कमजोर हुन जान्छ । संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यही डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ ।
अन्तर्राष्ट्रिय मधुमेह संघकाअनुसार संसारभर ५३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । संसारमा प्रत्येक १० जना मध्ये १ जनामा मधुुमेह देखिएको छ । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ ।