काठमाडौं—सरकारी रेडियोग्राफी संघ (गोरान)को तदर्थ समिति घोषणा गरिएको छ । मंगलबार विश्व रेडियोग्राफी दिवसको अवसरमा ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा सेन्टरका वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट दामोदर रोक्काको अध्यक्षतामा तदर्थ समिति बनाइएको हो ।
तदर्थ समितिको उपाध्यक्षमा सरोज क्षेत्री, महासचिवमा प्रकाश तिमल्सिना, कोषाध्यक्षमा राकेश कर्ण, सचिवमा भीम थापा (अरुण) चयन भएका छन् । यसैगरी, सदस्यहरुमा शरद ढकाल, महेश कार्की, प्रीति थापा र वर्षा डिसी चयन भएका छन् ।
रेडियोग्राफी सम्बन्धी अन्तक्रिया सम्पन्न
विश्व रेडियोग्राफी दिवसको अवसरमा मंगलबार अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरानको आयोजनामा ‘रेडियोग्राफीको वर्तमान अवस्था तथा भविष्य’ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गोरानका अध्यक्ष दामोदर रोक्काको अध्यक्षतामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरको सभाहलमा भएको उक्त कार्यक्रममा मुख्य वक्ताको रुपमा रेडियोग्राफीका प्राध्यापक गणेशबहादुर पोखरेल रहेका थिए । यस्तै, अन्य वक्ताहरुमा शहीद गंगालाल हृदय केन्द्रका रेडियोग्राफी इन्चार्ज वरिष्ठ रेडियोग्राफी टेक्नोलोजीष्ट इन्देश ठाकुर तथा त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोग्राफी टेक्नोलोजीष्ट निरन्जन थापाले बोलेका थिए।
कार्यक्रमका वक्ताहरुले विश्व परिवेशमा रेडियोग्राफी क्षेत्रले छलाङ मारेको तर नेपालमा रेडियोग्राफी क्षेत्रमा चित्तबुझ्दो विकास र पहिचान स्थापित नभएको औल्याउँदै भविष्यमा नेपालको रेडियोग्राफी क्षेत्रलाई विश्व परिवेशसँगै अगाडि बढाउन सरकारी रेडियोग्राफी संघको भूमिका कोसेढुंगा सावित हुने आशा व्यक्त गरेका थिए।
सो अवसरमा नेपाल सरकार वा मातहतका निकायहरुको स्वामित्व, दायित्व वा लगानी रहेका सरकारी, अर्धसरकारी तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरुलाई समेट्ने गरी स्थापना गरिएको सरकारी रेडियोग्राफी संघ नेपालको लोगो तथा तदर्थ समितिको घोषणा समेत गरिएको थियो।
समापन मन्तव्य राख्दै संघका अध्यक्ष दामोदर रोक्काले सामूहिक हकहित र पेशाको विकास एवं पहिचानका लागि सरकारी रेडियोग्राफी संघ नेपालको स्थापना भएको बताउँदै संघमा सामूहिक नेतृत्व प्रणाली र गतिशीलताको सुनिश्चितताका लागि संघको विधानमै ‘एक पद, एक कार्यकाल’को व्यवस्था गरिएको बताए ।
संघका महासचिव प्रकाश तिमल्सिनाले संचालन तथा उपाध्यक्ष सरोज क्षेत्रीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत ७० भन्दा बढी रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।