काठमाडौं—निर्वाचन आयोगबाट उम्मेदवारी खारेजीमा परेपछि ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवार बनेकी डा. तोषिमा कार्की सर्वोच्च अदालत गएकी छन् । सोमबार डा. कार्कीले आयोगको उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको र उनको उम्मेदवारी कानुन विपरित भएको भन्दैं आयोगमा उजुरी परेको थियो । उक्त उजुरीपछि १२ कात्तिकमा मा आयोगले डा. कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।
आफ्नो उम्मेदवारी खारेजीमा परेपछि डा. कार्की आयोग विरुद्ध सर्वोच्च गएकी हुन् । उनले निर्वाचनमा उम्मेदवार बन्नकै लाग भनेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेक्कचरर पदबाट राजीनामा दिएकी थिइन् ।
डा. कार्कीले निश्चित तलब नहुने र बैठकमा उपस्थित हुँदा मात्रै भत्ता पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद हुने वा नहुने भन्ने विषयमा निक्र्यौल गरिदिन २८ भदौंमा निर्वाचन आयोगलाई पत्र लेखेकी थिइन् । तर, आयोगले उक्त पत्रको कुनै जवाफ नदिएर उजुरी परेपछि उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
अहिले डा. कार्कीले आफूले मागेको जवाफ समयमा नदिएर आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने अन्यायपूर्ण निर्णय गरेको भन्दैं सर्वोच्च गएकी हुन् । पेशाले सर्जन डा. कार्कीमाथि अन्याय भएको भन्दैं अहिले सामाजिक सन्जालमा निर्वाचन आयोगको तीब्र आलोचना भइरहेको छ ।