काठमाडौं—नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष पालिकाबाट छात्रवृत्तिमा ‘एक डाक्टर, एक स्टाफ नर्स’ पढाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख छ ।
‘पढाइ सकेपछि आफ्नो पालिकामा सेवा गर्नुपर्ने सर्तमा हरेक पालिकाबाट प्रत्येक वर्ष कम्तीमा एक डाक्टर, एक स्टाफ नर्स पढ्न सरकारले छात्रवृत्तिको व्यवस्था गर्नेछ । डाक्टर तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा वृद्धि गरिने छ,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘साप्ताहिक ४० घन्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गरिने छ ।’ उसले आम नागरिकमा चिकित्सा सेवा पु¥याउन डाक्टरहरूको संख्या बढाइने घोषणा पत्रमा उल्लेख गरेको छ ।
यस्तै, स्वास्थ्य सेवालाई जनमैत्री वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरुयोजना बनाएर लागु गर्ने माओवादी प्रतिवद्धता पत्रमा उल्लेख छ ।
हरेक पालिकामा आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, प्रदेशस्तरमा ठूलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरू निर्माण र सञ्चालनमा जोड दिने, सञ्चालनमा रहेका अस्पतालहरूको क्षमता विस्तार तथा आधुनिकीकरणको गरिने, गुणस्तर र विशिष्टीकृत स्वास्थ्य सेवा दिएर उपचार गर्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्दै विदेशी नागरिकलाई समेत उपचार लागि नेपाल आउनुपर्ने वातावरण निर्माण गर्ने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ ।
औषधी उत्पादनमा आत्मनिर्भर हुने, गरिब तथा विपन्नलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने, स्वास्थ्य बिमाअन्तर्गत प्राप्त सेवाको दायरा र गुणस्तर बढाउने, जडिबुटी प्रशोधन केन्द्र खोल्ने, बालबालिका र जेष्ठ नागरिकका लागि विशिष्टीकृत अस्पताल निर्माण गर्ने, १०० वा सो भन्दा बढी शैय्या भएको अस्पतालमा बालबालिका र जेष्ठ नागरिकका लागि छुट्टेै इकाई स्थापना गर्ने पनि माओवादी केन्द्रको प्रतिवद्धतामा छ ।
१५ बुँदामा स्वास्थ्यका विभिन्न घोषणाहरु समेटिएको उक्त प्रतिवद्धतामा अन्य विभिन्न लोभलाग्दा कार्यक्रमहरु समेटिएका छन् ।