२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकीकृत समाजवादीको घोषणामा पत्रमा १२ बुँदामा समेटिएको स्वास्थ्य

एकीकृत समाजवादीको घोषणामा पत्रमा १२ बुँदामा समेटिएको स्वास्थ्य

प्रत्येक प्रदेशमा १००० र नगरपालिकामा १०० शैय्याको सुविधासम्पन्न अस्पताल स्थापना गर्ने योजना


काठमाडौं—सत्तारुढ गठबन्धनका प्रमुख दलमध्ये एक नेकपा एकीकृत समाजवादीले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा एकीकृत समाजवादीले ‘निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार’लाई स्वास्थ्यको प्रमुख नाराका रुपमा अगाडि सारेको छ ।

उसले स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राख्ने उल्लेख गरेको छ । यस्तै, नेपालमा पाइने जीवनबुटीलगायतका जडीबुटी तथा औषधीजन्य पदार्थको उत्पादनमा जोड दिने, प्रत्येक प्रदेश सदरमुकाममा डाइग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आईसीयु तथा भेन्टिलेटर सेन्टरहरूसहितका सुविधासम्पन्न एक हजार शैय्याको अस्पताल स्थापना गर्ने महत्वकांक्षी योजना पनि समाजवादीको घोषणा पत्रमा छ ।

प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैय्याका सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्न पहल गर्ने समाजवादीले घोषणाप पत्रमा उल्लेख गरेको छ । यस्तै, प्रत्येक पालिकामा विशेषज्ञ चिकित्सक सेवा, सबै नगरपालिका र गाउँपालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा, विकट गाउँमा एयर एम्बुलेन्स, आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद् तथा महामारीबाट हुने घाइते तथा विरामीहरूको उद्धार र सम्पूर्ण उपचार निःशुल्क गराउन पहल गर्ने घोषणा पत्रमा छ ।

यस्तै, घोषणापत्रमा समाजवादीले क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, मधुमेह, उच्च रक्तचापलगायतका घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउन र क्यान्सर, मुटु, मृगौला, कलेजोको रोगलगायत जटिल र दीर्घ रोग लागेका बिरामीलाई उपचार र औषधी खर्चवापत मासिक पाँच हजार सहयोग उपलब्ध गराउन पहल गरिने समाजवादीले जनाएको छ । मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको जटिल शल्यक्रियाहरू सरकारका तर्फबाट गर्ने व्यवस्था मिलाउन र मिर्गौला रोगीका लागि डायलोसिस तथा प्रत्यारोपण सेवा निःशुल्क गर्न पहल गरिने छ ।

सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने, गरिबीको रेखामुनि रहेका लागि बिमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने, १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेलगायतका कुरा समाजवादीले घोषणा पत्रमा समेटेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ