२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनरदेवी चिकित्सालयले जेष्ठ नागरिक लक्षित कार्यक्रम सुरु गर्ने

नरदेवी चिकित्सालयले जेष्ठ नागरिक लक्षित कार्यक्रम सुरु गर्ने


काठमाडौं—देशको एकमात्रै केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीले बढ्दै गरेको जेष्ठ नागरिक सम्बन्धि समस्यालाई लक्षित गरेर जेष्ठ नागरिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । शुक्रबार धवमन्तरी जयन्ती तथा राष्ट्रिय आयुर्वेद दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले सो जानकारी दिएका हुन् ।

डा. केसीकाअनुसार नेपाललगायत विश्वमा नै जेष्ठ नागरिकको संख्या दिन प्रतिदिन बढिरहेको तथ्यलाई हेरेर आगामी दिनमा चिकित्सालयले जेरियाट्रिक केयरअन्तर्गतका अल्जाइमर, पार्किन्सन्स, पक्षघात, स्पाइनल कर्ड इन्जुरीलगायतका स्वास्थ्य समस्याहरुमा पञ्चकर्म, शिरोधारा, अकुंपञ्चर, मनोसामाजिक परामर्शसहितका गुणस्तरीय स्वास्थ्य प्रदान गरिनेछ । त्यसैगरी, उनले स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने, जीर्ण अवस्थामा रहेको प्रशासनिक तथा आवास गृह भत्काएर गुरुयोजनाअनुसारको दोस्रो भवन निर्माण गर्ने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा आफू निर्देशक भएपछि गरेका व्यवस्थापकीय, सेवा प्रवाहको रुपान्तरण र विस्तारलगायतमा भएका प्रगतिको विवरण प्रस्तुत गरेका थिए । जसमा पार्किङ व्यवस्थापन, विजुली तारको भूमिगत, ढल निकास, जडिबुटी उद्यान निर्माण, पाकशाला व्यवस्थापन, अस्पतालका सम्पूर्ण काममा कम्प्युटर प्रणाली लागु, विकास समितितर्फको आम्दानीबाट चिकित्सक, कर्मचारीहरुलाई योगदानमा आधारित प्रोत्साहन भत्ता उपलब्ध, करारमा नियुक्ति भएका सहायक कर्मचारीको सेवा सुविधा वृद्धिलगायतका व्यवस्थापकीय सुधार गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी, सेवा प्रवाहतर्फ क्षारसुत्र चिकित्सा सेवाको विस्तार, पञ्चकर्म चिकित्सा सेवाको स्तरोन्नती, स्त्री तथा प्रसुति सेवा विस्तार, अंकुपञ्चर सेवा, चिकित्सा सेवा विस्तार, क्याबिन कक्षको मर्मत र पुनः सञ्चालन, फिजियो थेरापी सेवा विस्तार, अस्पताल फार्मेसी सेवा विस्तार, जेष्ठबासादी मिश्रण औषधीलगायतका सेवा थप भएको डा. केसीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ