काठमाडौं—वीर अस्पतालमा दाताको मिर्गौला झिकेर बिरामीमा प्रत्यारोपण नगरिएको विषयमा अस्पताल र बिरामी पक्षबीच सहमति भएको छ । अस्पतालका निमित्त प्रमुख कार्यकारी निर्देशक डा. भुपेन्द्र बस्नेतकाअनुसार घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनअनुसार कारवाही गर्ने सहमति भएको हो ।
‘सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ उनले भने, ‘ हामीले बिरामीको उपचार निःशुल्क गरिदिने भएका छौं ।’
मंगलबार वीर अस्पतालका प्रत्यारोपण सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरेका थिए । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो । प्रत्यारोपण सेडयुलअनुसार नै सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो ।
तर, सो मिर्गौला काम नलाग्ने भएको भन्दैं प्रत्यारोपणमा संलग्न सर्जनद्वय नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नै नदिएर हिडेपछि बिरामीका आफन्तहरु आन्दोलित भएका थिए ।