२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रत्यारोपण गर्न झिकिएको दाताको मिर्गौला छोडेर सर्जन हिडेपछि वीरमा तनाव

प्रत्यारोपण गर्न झिकिएको दाताको मिर्गौला छोडेर सर्जन हिडेपछि वीरमा तनाव


काठमाडौं—वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर शल्यक्रियामा संलग्न चिकित्सक हिडेपछि तनाव उत्पन्न भएको छ । मंगलबार वीर अस्पतालका प्रत्यारोपण सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरेका थिए ।

ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो । प्रत्यारोपण सेडयुलअनुसार नै सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो ।

तर, सो मिर्गौला काम नलाग्ने भएको भन्दैं प्रत्यारोपणमा संलग्न सर्जनद्वय नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नै नदिएर हिडेपछि बिरामीका आफन्तहरु आन्दोलित भएका हुन् । अस्पताल स्रोतकाअनुसार दुवै चिकित्सकले सो विषयमा बिरामीका आफन्त, विभागीय प्रमुख र अस्पताल प्रमुखलाई समेत जानकारी नदिएर अस्पतालबाट निस्किएका थिए ।

बिरामीका आफन्तहरुले गुनासो लिएर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत कहाँ पुगेका थिए । सो विषयमा बिरामीका आफन्तलाई बुझाउनका लागि निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतले पटक—पटक दुवै चिकित्सकलाई बोलाउँदा पनि अटेर गरेको अस्पताल स्रोतको दावी छ ।

दाताबाट निकालिएको मिर्गौला त्यतिकै छोडेर सर्जनद्वय हिडेपछि बिरामीका आफन्तले अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतलाई राति १२ बजेसम्म कार्यकक्षमै रोकेर राखेका थिए ।

बिरामीका आफन्तहरुले प्रत्यारोपण गर्ने मिर्गौलाको बायोस्पी गर्न वीर अस्पतालमै व्यवस्था हुँदाहुँदै सर्जनद्वय कार्यरत निजी अस्पताल ह्याम्स अस्पताल पठाएको, आफूहरुलाई मिर्गौला प्रत्यारोपणका विषयमा स्पष्ट जानकारी नगराएको र अस्पताल प्रमुखले पटक—पटक बोलाउँदा पनि सर्जनद्वय उपस्थित नभएपछि उपचारमा गम्भीर लापरवाही भएको आशंका भएको आरोप लगाएका छन् ।

यस विषयमा अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतसँग जिज्ञाशा राख्दा उनले प्राविधिक विषय भएकाले यस विषयमा छानविन गर्नका लागि छानविन समिति बनाइएको र सो छानविन समितिको प्रतिवेदनका आधारमा अगाडि बढ्ने बताए । ‘मिर्गौला प्रत्यारोपणका क्रममा गलत भएको भनेर बिरामीका आफन्तहरुले उजुरी गर्नुभएको छ,’ उनले भने, ‘सोही उजुरीका आधारमा अस्पतालका सिनियर सर्जन डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा सरोकारवाला राखेर छानविन समिति बनाएका छौं ।’

वीरको युरोलोजी विभागका प्रमुख डा. रविन बस्नेत मिर्गौला प्रत्यारोपणका क्रममा कहिलेकाही यस्ता समस्या हुनु प्राविधिक कुरा भएको बताउँछन् । तर, शल्यचिकित्सकले यस्ता प्राविधिक समस्याका कुरालाई च्यानलअनुसार कम्युनिकेसन नगर्नु कमजोरी रहेको बताउँछन् । ‘कहिलेकाही मिर्गौलाका सबै पक्षहरु परीक्षणका क्रममा देखिदैनन् । समस्या आउन सक्छ,’ उनी भन्छन्, ‘तर, उपचारका क्रममा आउने समस्यालाई च्यानलाइज गर्ने र बिरामीका आफन्तलाई ब्रिफिङ गर्ने गर्नुपर्छ । त्यसमा कमजोरी देखिएको छ ।’

६ महिनादेखि डाइलाइसिस गराइरहेकी ती बिरामी अन्य अस्पतालमा ढिलो हुने भएपछि मिर्गौला प्रत्यारोपण गर्न वीर अस्पतालमा आएकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ