२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचुनावी मैदानमा डाक्टर, कसको प्रतिस्पर्धी को ?

चुनावी मैदानमा डाक्टर, कसको प्रतिस्पर्धी को ?


विराटनगर–आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा डाक्टरहरू पनि चुनावी मैदानमा उत्रिएका छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट उठेका चिकित्सकहरू चर्चित र हेविवेट नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन् ।

केही चिकित्सकले विभिन्न दलको प्रतितिनिधित्व गर्दै उम्मेदवारी दर्ता गरेका छन् । केहीले स्वतन्त्र उम्मेदवारी दर्ता पनि गराएका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजका संचालक डा. सुनिल शर्माले मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनी नेपाली कांग्रेसबाट उठेका हुन् । शर्माले नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग प्रतिस्पर्धा गर्नेछन् । पूरानै प्रतिद्वन्द्वीबीच यसपालीको पनि यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

वि.सं. २०७४ को चुनावमा ढकालले ४२ हजार ४१३ मत ल्याएर निर्वाचित भएका थिए भने शर्माले ४० हजार ५०६ मत प्राप्त गरेका थिए । टुरिष्ट उम्मेदवारको संज्ञा पाएपछि ढकालले सुन्दरहरैचामा घर बनाएका छन् । शर्माले आफ्ना निर्वाचन क्षेत्रका बिरामीहरुलाई उपचारमा सघाउँदै आएका छन् । यसपटक चुनावमा जितेर जनताको सेवा गर्ने डा. शर्मा बताउँदै आएका छन् ।

यस निर्वाचन क्षेत्रबाट अभिनेत्री रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिकमा सक्रिय थापाले आफ्नो उम्मेदवारीलाई युवाहरुको विद्रोहका रुपमा लिन आग्रह गरेकी छन् ।

मोरङको क्षेत्र ६ मा गठबन्धनबाट कांग्रेसका नेता डा. शेखर कोइरलाले उम्मेदवारी दर्ता गराएका छन् । कोराइला फिजिसियन डाक्टर हुन् । उनको प्रतिस्पर्धा एमालेका नेता लालबाबु पण्डितसँग हुनेछ । पूरानै प्रतिद्वन्द्वीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा पण्डितले ३३ हजार ९४१ र कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए ।

सुनसरी क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्यमा डा. फरेन्द्र साहले उम्मेदवारी दिएका छन् । वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. साहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । स्वास्थ्य क्षेत्र सुधार गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताए । नीति निर्माण बनाउने ठाउँ राजनीतिबाट मात्र सम्भव र त्यसपछि मात्र स्वास्थ्य क्षेत्रको परिवर्तन हुने भएकोले आफूले संसदमा जान उम्मेदवारी दिएको उनले बताए ।

‘नेपालको स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेको छ । आफू हुर्केको ठाउँ सुनसरी अस्पतालको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘चुनाव जितेर सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारको लागि नीति निर्माण गरेर स्वास्थ्य र शिक्षा क्षेत्र आमुल परिवर्तन गर्ने योजना रहेको छ ।’
डा. साहले सुनसरी क्षेत्र नं. २ मा एमाले नेता भीम आचार्य र कांग्रेसका सिताराम मेहतासँग प्रतिस्पर्धा गर्नेछन् । आचार्य प्रदेश १ मा पूर्व मुख्यमन्त्री हुन् ।

उत्ता नेकपा माओवादी केन्द्रले भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका डा. भोजराज अधिकारीलाई चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट पाएपछि डा. अधिकारीले अस्पतालको अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन् । उनी यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको क्षेत्रबाट चुनावी मैदानमा छन् । उनले संसदमा प्रवेशसँगै स्वास्थ्यमन्त्री बनेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताएका छन् । अधिकारीको प्रतिस्पर्धा नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेसँग हुनेछ ।

डा. तोषिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । घर–घरमा स्वास्थ्यको पहुँच, महिला सशक्तिकरण, घर–घरमा प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका एजेन्डासहित प्रतिनिधि सभा सदस्यमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको वकालत गर्दै आएकी युवा सर्जन तोषिमा प्रस्तावकको रूपमा नेपाल सरकारका पूर्व सचिव तथा अभियन्ता डा. भीम उपाध्याय रहेका छन् ।

ललितपुर क्षेत्र नं ३ मा गठबन्धनको तर्फबाट ऊर्जामन्त्री पम्फा भुसाल र नेकपा एमालेको तर्फबाट अमृत खड्का उम्मेदवार रहेका छन् । मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोषिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् ।

किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छिन् । उनले स्वास्थ्य नेपाली सुखी नेपालीको नारा सहित केही समय अगाडि नै आसन्न चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

डा. सचिन घिमिरेले ललितपुर १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमालेका नवराज सिलवाल र गठबन्धनका साझा उम्मेदवार उदय शम्सेर राणासँग उनले चुनावी प्रतिस्पर्धा गर्नेछन् । वि.सं. २०७४ मा यो क्षेत्र नवराज सिलवालले जितेका हुन् ।

यस्तै, छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डा. प्रसन्न कुमार झाले जनमत पार्टीबाट धनुषाको ३ को ‘क’ बाट उम्मेदवारी दर्ता गराएका छन् । डा. निकोलस भुषाल रुपन्देही–२ बाट उम्मेदवार बनेका छन् । डा. सुदिन शाक्य ललितपुर–२, डा. रामप्रसाद उप्रेती काठमाडौं–५, डा. अर्चन शम्शेर राणा काठमाडौं–४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभामा डा. रक्षा न्यौपाने बारा–२, डा. नवीन मण्डल सप्तरी–३, डा. राजेन्द्रप्रसाद साह रौतहट–१, डा. रित्तोद आलम रौतहट–२, डा. मधु गुप्ता पर्सा–३, डा. प्रविण यादव सिराहा–३, डा. सुरेन्द्र यादव उम्मेदवार बनेका छन् । यी मध्ये धेरैजसो डाक्टरहरु हेविवेट नेतासँग प्रतिस्पर्धा गर्दैछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ