काठमाडौ—युवा सर्जन डा. तोषिमा कार्कीले ललितपुर—३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार उनले ललितपुर—३ बाट प्रतिनिधी सभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
राजनीति सही बाटोमा हिडेको भए काठमाडौं विश्वविद्यालय एक वर्षअघि मात्रै जनरल सर्जरीमा विशेषज्ञता हासिल गरेकी डा. कार्कीलाई चुनावी मैदानमा होमिनुपर्ने थिएन् । ३२ वर्षीय युवा चिकित्सक कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्जनका रुपमा काम गरिरहेकी थिइन् ।
तर, राजनीतिक भद्रगोलका कारण उनी उक्त जागिर छाडेर निर्वाचनमा होमिएकी हुन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको सहयोगीका रुपमा पनि काम गरेकी उनी नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्यसमेत हुन् ।
‘‘विज्ञहरुले आफूले विज्ञता हासिल गरेको क्षेत्रको नीति निर्माण र नेतृत्व नगरी परिवर्तन सम्भव छैन्,’ डा. कार्कीले हेल्थआवाजसँग भनिन्, ‘नेपालको आफ्नै राष्ट्रिय मौलिक स्वास्थ्य सेवा मोडल निर्माणका लागि काम गर्न म संसदमा जान चाहेकी हुँ ।’
चिकित्सकमाझ निकै लोकप्रिय उनी ललितपुर ३ का जनताको रोजाइमा पनि पर्ने विश्वासमा छिन् । ‘मेडिकल काउन्सिलमा पनि देशभरका चिकित्सकहरुले रुचाएर मलाई मतदान गरेर जिताउनुभयो,’ उनी विश्वासी सुनिइन्, ‘ललितपुरमै मेरो बसोबास छ, यही पढे र यही हुर्किए । यहाँका मतदाताले मलाई विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
नेपालको स्वास्थ्यलाई सुलभ, गुणस्तरीय र सबैको पहुँचमा पुग्ने बनाउनका लागि उनी सरकारी स्वास्थ्य सेवामा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छन् । ‘सरकारी स्वास्थ्य सेवा परिवर्तन सबै नेपालीले सहज रुपमा स्वास्थ्य सेवा पाउँदैनन्,’ उनले भनिन्, ‘त्यसैले स्वास्थ्य बिमा प्रभावकारी बनाउने, सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नती गर्ने, सरकारी चिकित्सकहरुको दरबन्दी थप्नेलगायतका कामहरु नगरी सुखै छैन । त्यो युवा नेतृत्वले मात्रै गर्न सक्छ ।’
उनले आफ्नो चुनावी मुद्धा महिला सशक्तीकरण पनि हुने बताइन् । यही क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उर्जामन्त्री पम्फा भुसाल प्रतिनिधीसभाकी उम्मेदवार छन् ।