काठमाडौं—डेङ्गु प्रकोप उच्च बनेसँगै बजारमा सिटामोलको अभाव हुन थालेको छ । बजारमा सिटामोलको अभाव हुन थालेपछि त्यसलाई पूरा गर्नका लागि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड दुई सिफ्ट सिटामोल उत्पादन गर्ने भएको हो ।
‘कोभिड—१९, सिजनल फ्लू, र डेंगुका कारण बजारको देखिएको सिटामोलको अभाव सहजीकरण गर्न हामी दैनिक दुई सिफ्टमा सिटामोल उत्पादन गर्दैछौं,’ औषधी लिमिटेडका महाप्रबन्धक मोहम्मद साफीउल्लाहले भने ।
उनकाअनुसार जनसाधारणको माग सम्बोधन गर्न लिमिटेडले खुद्रा बिक्री सेवा पनि सुरु गर्ने भएको छ । ‘नेपाल औषधी लिमिटेडको सेवा दुई दिन बाहेक दशैको विदामा पनि विहान ९ बजेदेखि १ बजेसम्म सुचारु रहनेछ,’ साफीउल्लाह थपे ।
पछिल्लो समय डेंगुको प्रकोप तीब्र रुपमा बढेसँगै बजारमा सिटामोलको अभाव देखिन थालेको हो । उक्त अभावलाई पूर्ति गर्नका लागि लिमिटेडले एकै दिन दुई सिफ्टमा सिटामोल उत्पादन गर्न लागेको हो ।