पद्म नर्सिङ होमको सेवा अब नदीपुरबाट, आफ्नै भवनमा सरेसँगै १०० शैय्या विस्तार गर्ने लक्ष्य

पोखरा–पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ होम १० असोजबाट घटस्थापनादेखि नदीपुरबाट सञ्चालनमा आएको छ । पोखरा–३ नदीपुरमा जापानिज प्रविधिमा निर्मित आफ्नै भवनमा सरेको हो । हाल पद्म नर्सिङ होम सञ्चालन सुरुआत भएको भवन समेत बुद्ध हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापनाका बेला बनेको हो । बुद्ध हस्पिटल बन्द भएपछि पद्म नर्सिङ होमले किनेको थियो ।
लामो समय आन्तरिक विवादमा रुमल्लिएको नर्सिङ होम नदीपुरमा स्थानान्तरण भएसँगै ५० बेड क्षमताबाट १ सय बेड क्षमतामा स्तरोन्नतीको तयारी गरेको अस्पतालले जनाएको छ । नर्सिङ होमबाट थप अनुभवी र वरिष्ठ डाक्टरहरुको परामर्शमा सेवा दिने बताउँदै नर्सिङ होमका अध्यक्ष इन्दिरा शर्मा सुवेदीले निर्माणको काम अझै केही बाँकी रहेकोले थप सेवा सञ्चालनमा आउन भने केही दिन लाग्ने सक्ने बताइन् ।
नर्सिङ होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरंग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इ.सी.जी., इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसीलगायत यस अगाडि प्रदान गर्दै आइरहेको सेवालाई निरन्तरता दिएको छ ।
नर्सिङ होमले अब छिट्टै नै आईसीयु एनआईसीयु, पिआईसीयु सिटी–स्क्यान, एमआरआईलगायत सेवा थप गर्ने तयारी गरेको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बाँस्तोलाले जानकारी दिए ।
प्रा. लि. का संञ्चालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतमले पद्म नर्सिङ होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्ने बताउँदै सर्वसुलभ स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने आफूहरुको उद्देश्य रहेको बताए ।
साविक पद्म नर्सिङ होम सञ्चालन भइरहेको पोखराको न्युरोडमा पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्ससेस स्थापना भएको छ । पद्म नर्सिङ होमका असन्तुष्ट सेयर सदस्यहरुले पद्मश्री हस्पिटल सञ्चालन गरेको बताइएको छ ।
पहिले पद्म नर्सिङ होम सञ्चालन भएको न्युरोडमा सोही नाम मिल्दोजुल्दो नाम राखेर पद्मश्री अस्पताल सञ्चालन गरेको प्रति पद्म नर्सिङ होम पक्ष असन्तुष्ट छ । अदालती प्रक्रियामा यसअघि पनि रुमल्लिएका पद्म नर्सिङका २ पक्ष फेरि अदालत पुग्नसक्ने बताइएको छ ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री
तपाईको प्रतिक्रिया दिनुहोस