काठमाडौं—नेकपा एमालेले डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भएको आरोप लगाएको छ । बुधबार एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ती जारी गर्दै डेंगु फैलावटको तुलनामा सर्तकर्ता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको बताएका छन् ।
‘सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा छ । देशव्यापी रुपमा फैलिएको डेंगु रोगको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदैं एमालेले साउन महिनामै आफनो पार्टी डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ ।
‘स्वास्थ्य संस्थामा बिरामीहरुका लागि वेड छैन । हजारौं बिरामीहरु स्वास्थ्य परीक्षणको अभावमा घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मी समेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ,’ विज्ञप्तिमा छ, ‘सिटामोललगायतका अति आवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।’
एमालेले लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, बिरामीको पहिचान र परीक्षणलाई ब्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, सिटामोललगायतका औषधी व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।
साथै, एमालेले पार्टी कार्यकर्तालाई पनि डेंगु नियन्त्रणमा योगदान गर्न आग्रह गरेको छ ।