काठमाडौं—जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा प्रतिष्ठानकै कर्मचारीबाट कुटिएका डा. करण साहलाई बाल हिंसाको आरोप लगाउँदैं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी तत्काल खारेज गर्न नेपाल चिकित्सक संघ (एनएमए)ले माग गरेको छ । मंगलबार संघले एक विज्ञप्ति जारी गर्दै पक्राउ पूर्जी ७२ घण्टाभित्र खारेज नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने अल्टिमेटम सरकारलाई दिएको छ ।
२ भदौंमा प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले छोराको उपचारमा ढिलाइ गरेको भन्दैं डा. साहमाथि कुटपिट गरेका थिए । कुटपिट पश्चात प्रतिष्ठानले शाहीलाई निलम्बन गर्नुका साथै घटनाको सत्यतथ्य छानविनका लागि छानविन समिति गठन गरेको थियो ।
नेपाल चिकित्सक संघले पनि स्थलगत अनुगमन गरी पीडित डा. साहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो भने शाही विरुद्ध जुम्ला प्रहरीमा किटान जाहेरी दिइएको थियो । शाही विरुद्ध जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको थियो ।
शाहीले पनि जिल्ला अदालत जुम्लामा डा. साहविरुद्ध बाल हिंसाको मुद्धा दर्ता गरेका थिए । सोही मुद्धामा जिल्ला अदालतले डा. साहमाथि पक्राउ पूर्जी जारी गरेको थियो ।
नेपाल मेडिकल काउन्सिलले पनि डा. साहविरुद्ध पक्राउ पूर्जी जारी भएपछि चासो देखाएको छ । मंगलबार नै काउन्सिलले विज्ञप्ति जारी गरी कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारका क्रममा कुनै लापरवाही वा हेलचेक्रयाइ गरेको शंका लागेको खण्डमा मुलुकी अपराध संहिता, २०७४ को परिछेच्द १९ को इजलास सम्बन्धी कसुरको दफा २३१, २३२, २३३ र २३८ ले कानुनी उपचार सम्बन्धी व्यवस्था गरेको उल्लेख गरेको छ । उल्लेखित दफाको कानुनी उपचारको कार्यविधीले अनुसन्धान समितिको व्यवस्था गरेको र सो समितिले सिफारिसमा मात्र सरकारी वकिलले मुद्धा चलाउन सक्ने काउन्सिलको विज्ञप्तिमा छ ।
‘अनुसन्धान समितिले स्वतन्त्र रुपमा गर्ने काम कारवाही प्रभावित हुने किसिमबाट मुद्धा दर्ता तथा पक्राउ पूर्जी जारी गर्ने वा पक्राउ गर्ने लगायतका काम कारवाही नगर्नु/नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी लागि अनुरोध छ,’ काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा छ ।