काठमाडौं—कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ । मंगलबार नगरपालिकाका मेयर उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनको प्रगति विवरणबारे जानकारी दिदैं जेष्ठ नागरिकका लागि घरघरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको बताए ।
यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरिएको उनले बताए । ‘मेयरसँग जेष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको छ,’ प्रमुख कार्कीले भने ।
यस्तै, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगर अस्पतालको १५ शैय्याको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ ।
नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयारी गरेको हो ।
नगरसभाबाटै पालिकालाई खेलकुद नगरी बनाउने प्रस्ताव पारित गरेको भन्दै कार्कीले अब खेल विशेषका एकेडेमी निर्माणका लागि संघीय सरकारसँग समन्वयको काम थालेको र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिए ।