२०८१ मंसीर २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउत्कृष्ट योगदान दिएका १५ जना महिला चिकित्सकले पाए ‘वुमन इन मेडिसिन’ एवार्ड

उत्कृष्ट योगदान दिएका १५ जना महिला चिकित्सकले पाए ‘वुमन इन मेडिसिन’ एवार्ड


काठमाडौं—चिकित्सा शिक्षा र सेवामा महत्वपूर्ण योगदान गर्ने १५ जना महिला चिकित्सकहरु सम्मानित भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक समारोहमाझ चिकित्साका विभिन्न विधामा उच्च योगदान दिएका १५ जना चिकित्सकलाई ‘वुमन इन मेडिसिन—२०२०’ एवार्डमार्फत सम्मानित गरेकी हुन् ।

नेपाल चिकित्सक संघ (एनएमए)ले गत वर्षदेखि चिकित्सा शिक्षा र सेवामा अमुल्य योगदान गरेका महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन’ एवार्ड वितरण गर्दै आएको छ । यस वर्ष १० जना चिकित्सकलाई वुमन इन मेडिसिन एवार्ड र ५ जना चिकित्सकलाई वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट एवार्डद्वारा राष्ट्रपतिको हातबाट सम्मानित गरेको हो ।

संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य शिक्षा र सेवामा अतुलनीय योगदान गर्ने नेपाली चिकित्सकहरुलाई छनोट गरेर सम्मानित गरिएको बताए । ‘हामीले वुमन इन मेडिसिन फोरममार्फत भावि पुस्ताका लागि अनुभव, ज्ञान, सीप र मागदर्शक कुराहरु अनुभवी चिकित्सकहरुमार्फत दिने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘यो फोरमले पहिलेको अनुभवी पुस्तालाई नयाँ पुस्तासँग जोड्नेछ ।’

‘महिला चिकित्सकहरुले नेपालको स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा अभूतपूर्व योगदान आइरहनु भएको छ,’ डा. कार्कीले भने, ‘त्यस्ता महिला चिकित्सकहरुलाई क्रमवद्ध रुपमा एवम् प्रकारको कार्यक्रमको आयोजना गरी सम्मान गर्ने तथा उहाँहरुको अनुभव र ज्ञानलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि अन्तक्रिया, सेमिनारलगायतका कार्यक्रमको आयोजना वुमन इन मेडिसिन नामक उपसमितिले गर्नेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै, संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले संघले वुमन इन मेडिसिन फोरममार्फत समाजमा अतुलनीय योगदान गरेका महिला चिकित्सकहरुको सम्मान गर्नुका साथै नयाँ चिकित्सकहरुलाई तालिम, सेमिनार, कार्यशालामार्फत अनुभवी चिकित्सकका ज्ञान सीप बाँडिरहेको बताए ।

संघले वरिष्ठ चिकित्सक प्रा.डा. चन्दा कार्कीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएर सम्मान गर्ने चिकित्सकहरु छनोट गरेको थियो । जसमा पूर्व अध्यक्षद्वय डा. केदारनरसिंह केसी र डा. अन्जनीकुमार झा संरक्षकका रुपमा रहेका थिए ।

समितिले २० वर्ष काम गरेको अनुभव, दुर्गममा ५ वर्ष काम गरेको, प्रतिष्ठित छवि भएको, समाजमा उत्कृष्ट योगदान पु¥याएको, खोज र अनुसन्धानमा सक्रियलगायतमा विभिनन मापदण्डका आधारमा सम्मानित गर्ने चिकित्सकहरु छनोट गरेको थियो ।

यी हुन एवार्ड पाउने १५ जना महिला चिकित्सकहरु

वुमन इन मेडिसिन अवार्ड
१. प्रा.डा. आश्मा राणा (स्त्री तथा प्रसुति रोग विशेषज्ञ)
२. प्रा.डा. बसुधा खनाल (माइक्रोबायोलोजिष्ट)
३. प्रा.डा. कमला बुढाथोकी (डर्माटोलोजिष्ट)
४. प्रा.डा. लक्ष्मीनानी मैया (स्त्री तथा प्रसुति रोग विशेषज्ञ)
५. डा. मीरा मल्ल (डेन्टल)
६. प्रा.डा. मिथिला शर्मा अधिकारी (स्त्री तथा प्रसुति रोग विशेषज्ञ)
७. प्रा.डा. रोश्ना अमात्य (एनेस्थेसिया)
८. प्रा. डा. स्वराज राजभण्डारी (स्त्री तथा प्रसुति रोग विशेषज्ञ)
९. प्रा.डा. ्तीर्था राणा (पब्लिक हेल्थ)
१०. डा. उषा शाह (स्त्री तथा प्रसुति रोग विशेषज्ञ)

वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट एवार्ड
१. डा. विमला ओझा (डर्माटोलोजी)
२. डा. नारायणी श्रेष्ठ (अप्थाल्मोलोजी)
३. डा. रेवा श्रेष्ठ
४. डा. गीता बस्नेत (रेडियोलोजी)
५. डा. ओमविक्रम शाह (रेडियोलोजी)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ