विराटनगर–प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा ६ महिना पनि पूरा नहुँदै मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालका डा. लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो ।
कोशीमा ४ फागुनदेखि डा. यज्ञ खरेलले निमित्त मेसुको जिम्मेवारी सम्हाल्दैं आएका थिए । मन्त्रालयले यादवलाई मेसुको जिम्मेवारी तोकेको छ भने खरेललाई सोही हस्पिटलमा कार्यरत रहन भनेको छ ।
स्वास्थ्य मन्त्रालयले मेसुको जिम्मेवार दिएका डा. यादव १० औं तहका चिकित्सक हुन् । अस्पतालमा ११ औं तहको मेसुको दरबन्दी रहेको छ । यादवलाई कोशी अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिइएको हो । उनी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन् ।
यसअघि मन्त्रालयले जुनियर चिकित्सकबाट मेसु नियुक्त गरेको भन्दै अस्पताल भित्रका सिनियर चिकित्सकहरू असन्तुष्ट बनेका थिए ।
जुनियरबाट मेसु नियुक्ति गरेको भन्दैं अस्पतालका सिनियर चिकित्सकहरू असन्तुष्ट भएको कारणले पनि छोटो अवधिमा जिम्मेवारी हेरफेर गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यादव र खरेल दुवै दशौं तहको भएपनि यादव अस्पतालका सिनियर चिकित्सक हुन् ।
मन्त्रालयले मेसुको जिम्मेवारी दिएको यादव वि.सं. २०७१ सालदेखि कोशी अस्पतालमा कार्यरत रहेका छन् । उनी यसअघि अस्पतालको प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
वि.सं. २०५८ सालमा लोकसेवाबाट नाम निकालेपछि पहिलो पोस्टिङ उनको धनुषाको प्राथमिक स्वास्थ्य चौकीमा भएको थियो । ६ महिना उक्त अस्पतालमा काम गरेपछि झापाको मेची अस्पतालमा सेवा गरे ।
चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालबाट वि.सं. २०६६ सालमा एमडी गरेपछि पुनः मेची अस्पताल हुँदै डा. यादवले वि.सं. २०७१ सालदेखि कोशीमा सेवा दिँदै आएका छन् ।