काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्री खापुङले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखामा निर्देशक डा. सर्वेस शर्मालाई लगेका छन् । महत्वपूर्ण निकायको जिम्मेवारी पाएका डा. शर्मा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीका विश्वासपात्र हुन् ।
यसअघि व्यवस्थापन महाशाखाको निर्देशक रहेका डा. रुद्र मरासिनी सरुवा भएका छन् । उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।
ट्रमामा यसअघि डा. प्रमोद यादवलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा थिए । उनलाई जनकपुर अस्पतालमा मेसुबाट केही समयअघि मात्रै ट्रमा ल्याइएको थियो ।
यसैगरी केन्द्रीय कारागार अस्पतालको जिम्मेवारी डा. प्रकाश बुढाथोकीलाई दिइएको छ । यसै वर्ष ११ औं तहमा बढुवा भएका उनी वीर अस्पतालका कार्यरत थिए ।
फाजिलमा रहेकी डा. राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयको जिम्मेवारी दिइएको छ ।