२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको एनआईसीयु बन्द, दुई महिनादेखि स्टोरमा थन्कियो उपकरण

कोशी अस्पतालको एनआईसीयु बन्द, दुई महिनादेखि स्टोरमा थन्कियो उपकरण

चलाउने छैन सुरसार, एनआईसीयु बन्द हुँदा चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बिरामी बाध्य


विराटनगर–मोरङको कानेपोखरी गाउँपालिका–६ का खगेन्द्र बराइलीका चार वर्षका भाइ निमोनियाले ग्रस्त भएपछि कोशी हस्पिटल लिएर आए । चिकित्सकहरुले बिरामीको अवस्था हेरेपछि एनआईसीयुमा राखेर उपचार गरिनुपर्ने सुझाव दिए ।

आर्थिक अवस्था नाजुक भएको बराइली परिवारले सस्तोमा उपचार हुने भएकोले कोशीमा बिरामी लिएर आएका थिए । तर, कोशी अस्पतालको दुई महिनादेखि एनआईसीयु बन्द रहेको छ । कोशीमा एनआईसीयु बन्द भएका कारण बराइलीले चर्को शुल्क तिरेर निजीमा भाइको उपचार गर्न बाध्य भए ।

प्रदेश १ को सबैभन्दा ठूलो सरकारी हस्पिटल कोशीमा दुई महिनादेखि बन्द भएको एनआईसीयु सेवा सुचारु नगर्दा बिरामीले चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य छन् । ठाउँ अभाव भएको देखाउँदै कोशी अस्पताल प्रशासनले दुई महिनादेखि एनआईसीयुको उपकरणहरू स्टोरमा थन्काएर राखेको छ । स्टोरमा एनआईसीयुमा आवश्यक पर्ने उपकरणहरू ताला लगाएर राखेको छ ।
अस्पतालको बच्चा वार्डको पुरानो भवनबाट सरेर नयाँ भवनमा गएको एक महिना हुन लाग्दा पनि अस्पताल प्रशासनले एनआईसीयु सुचारु गर्ने चासो देखाएको छैन ।

कोशीको पुरानो वच्चा वार्ड ओपीडी भवनदेखि पूर्व उत्तर पार्टी रहेको थियो । पूरानो भवनमा रहँदा पाँच शैय्याको एनआईसीयु सुचारु रहेको थियो । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रुपैयाँ लागतमा निर्माण भएको लिफ्टसहितको नयाँ भवनमा सरेको एक महिना पुग्दा पनि एनआईसीयु सुचारु हुन नसकेको हो ।

नयाँ भवनमा बच्चा वार्डमा १६ साउनमा सरेको थियो । अहिले बच्चा वार्डमा ३२ शैय्या रहेको छ । भेन्टिलेटर अवश्यका पर्ने नवजात शिशुदेखि बालबालिकाहरूलाई एनआईसीयुमा राखेर उपचार गरिन्छ । कोशीको गाइनो वार्डमा दैनिक २० देखि २५ वटासम्म प्रसूति हुने गरेको छ । जसमध्ये हप्तामा ५ देखि १० जनासम्म नवजात शिशुलाई एनआईसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

तर, अस्पतालको एनआईसीयु सुचारु नहुँदा विपन्न परिवारका बिरामी समस्यामा परेका छन् । ‘पैसा हुनेले त निजीमा गएर उपचार गर्छन् । कोशीमा आउने विपन्न हुन्छन् । त्यसमाथि निजीमा उपचार गर्दा चर्को शुल्क तिर्नुपर्ने अवस्था रहेको छ,’ बिरामीका आफन्त खगेन्द्र बराइलीले भने, ‘कोशीमा भए दिनको एक हजार रुपैयाँमा उपचार हुने रहेछ । निजीमा एनआईसीयुमा राखेर उपचार गर्दा दिनको ३ हजारदेखि ५ हजार रुपैयाँसम्म तर्नु पर्दोरहेछ ।’

कोशी अस्पतालका बाल विभागका प्रमुख डा. रामनारायण चौधरीले भवन अभावको कारणले एनआईसीयु राख्ने ठाउँ नभएको बताए । ‘अहिले बालबालिकाहरूमा ज्वरो र इन्फेक्सन भएका बिरामीहरू आउने गरेका छन्,’ डा. चौधरीले भने, ‘यहाँ उपचार हुनसक्ने बिरामीलाई वार्डमा राखेर उपचार गर्दै आएका छौं । गाह्रो भएका बिरामी र एनआईसीयुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई एनआईसीयु भएको हस्पिटल लैजान आग्रह गर्दै आएका छौं ।’

कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले पुरानो भवनबाट नयाँ ठाउँमा सरेको भवनमा एनआईसीयु राख्ने उपयुक्त ठाउँ नभएकोले समस्या भएको बताए । चाँडै एनआईसीयु जडान गर्ने तयारीमा हामी तयारीमा जुटेको उनले बताए । ‘केही दिन भित्रमा एनआईसीयु सुरु हुन्छ,’ उनले भने, ‘जनशक्ति पनि अहिले अभाव रहेको छ । यस विषयमा मन्त्रालयमा पनि जानकारी गराएका छौं । पदपूर्ति भएपछि उपचार सहज हुनेछ ।’

पोषणमा एनआईसीयु राख्ने तयारी

कोशी अस्पताल भित्र रहेको पोषण रहेको भवनमा एनआईसीयु राख्ने तयारी गरिएको छ । अहिले रहेको पोषण भवनमा एनआईसीयु राख्ने र पोषण पुरानो आईसीयुमा सार्ने २९ साउनमा अस्पतालले निर्माण गरेको हो । पोषण र गाइनो वार्ड नजिक रहेको छ ।

पोषण भएको भवनमा एनआईसीयु राख्दा उपयुक्त हुने चिकित्सकहरूले सुझाव दिएपछि अस्पतालले निर्माण गरेको बुझिएको छ । निर्माण अनुसार अस्पतालले एनआईसीयु राख्ने तयारी सुरु गरेको मेसु डा. यज्ञ खरेलले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ