काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरका ३२ वटै वडामा विशेषज्ञ चिकित्सक राख्ने प्रस्ताव गरेका छन् । आइतबार काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका आठौं बैठकमा बालेनले पहिलो प्रस्तावका रुपमा उक्त कुरा पेश गरेका हुन् ।
बालेनले वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाअनुसार वडा क्लिनिकमा एमडिजीपी डाक्टर राख्ने प्रस्ताव गरेका हुन् । उनले वडा क्लिनिकमा नर्स पनि राख्ने प्रस्ताव बैठकमा पेश गरेका छन् ।
त्यसका लागि बालेनले ३२ वटै वडाका लागि ३२ एमडिजिपी डाक्टर र ३२ जना नर्स अस्थायी दरबन्दी स्वीकृत गरी करार सेवामा लिने प्रस्ताव पनि राखेका छन् ।
‘हरेक वडामा वडा क्लिनिक राख्ने र एमबीबीएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन भए मान्छेलाई सरसल्लाह लिन, उपचार गर्न र अर्ली डाइग्नोसिस हरेक वडामा गर्दा अस्पतालको चाप पनि घट्ने, मान्छे ठूलो रोगको शिकार हुनुपूर्व नै चेतनाका लागि आवश्यक छन्,’ मेयर बालेनले भने ।