काठमाडौँ – ईशान बाल तथा महिला अस्पतालले बालबालिकाको लागि छिटै बोनम्यारो प्रत्यारोपण सेवा संचालन गर्ने भएको छ । अस्पतालको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो।
सो समारोहमा बोल्दै अस्पतालका निर्देशक प्राडा आर. पी चौधरीले नेपालमै पहिलोपटक बालबालिकाका लागि बोनम्यारो प्रत्यारोपण संचालन गर्न लागेको बताएका छन्। ‘नेपालमा हालसम्म सरकारी अस्पतालहरुमा युवा तथा प्रौडका लागि सो सेवा उपलब्ध छ। बालबालिकाको लागि भने छैन। त्यसैले हामीले यो सेवा छिटै सुरु गर्न लागेका छौँ, ‘उनले भने।
बोनम्यारो प्रत्यारोपण सेवाका लागि जनशक्ति व्यवस्थापन भैसकेको र पूर्वधार निर्माणको काम पनि लगभग सकिन लागेको उनले जानकारी दिए।
विं सं २०५२ सालको कृष्णअष्टमीको दिनमा बालबालिकाको उपचारमा सबैको पहुँच हुनुपर्छ भन्ने सोचले ईशान बाल नर्सिङ होमका नाममा अस्पताल स्थापना भएको थियो । १५ शैय्या अस्पतालबाट भाडामा भवन लिएर सेवा सुरु गरेको अस्पतालले अहिले एक सय शैय्याको आफ्नै अत्याधुनिक भवन निर्माण गरेको छ।
अस्पतालले बाल र महिला तथा प्रसुती सम्बन्धी आकस्मिक सेवा दिदैँ एम्बुलेन्स, सबै उमेर समूहका व्यक्तिमा जनरल मेडिसिन, जनरल सर्जरी, प्याथोलोजी, एक्स–रे, फार्मेसी सेवा प्रदान गर्नुको साथै अनुभवी विशेषज्ञ चिकित्सकहरुबाट ओपिडि सेवा बिहान सात बजेदेखि साँझ ८ बजेसम्म दिइदै आएको छ।
त्यस्तै, बाल हेमाटोलोजी, अंकोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी, एमआरआई सेवा, सिटी सेवा, निसन्तान दम्पतिका लागि आइभीएफ सेवा, पेनलेस प्रसुति सेवा, आँखा,नाक, कान तथा घाँटीसम्बन्धी र फिजियोथेरापी सेवा पनि सो अस्पतालमा उपलब्ध छन्।