विराटनगर -विराटनगरस्थित एक अस्पतालमा कार्यरत स्टाफ नर्सले मोरङको बेलबारी नगरपालिकामा निर्वाचित एक जनप्रतिनिधीले जबरजस्ती करणी गरेको भन्दैं उजुरी दिएकी छिन् ।
शनिबार ती नर्सले १८ साउनमा कार्यपालिकाका सदस्य विजय तुलाङ्गीले मोरङको जेफालेमा लगेर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएकी हुन् ।
सो उजुरी प्रहरीले दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी आएपछि अहिले अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
‘उजुरी आएको छ,’ एसपी कोइरालाले भने, ‘घटनाको विषयमा हामीले अनुसन्धान सुरु गरेका छौँ ।’
प्रहरीले ती किशोरीको मेडिकल जाँच धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराइसकेको छ । उजुरी परेपछि आइतबार अदालतबाट प्रहरीले पक्राउ पुर्जीको लागि अनुमति लिने तयारी गरेको छ । ‘आइतबार अदालतले पक्राउ पूर्जी दिने तयारी गरेको छ,’ अदालत स्रोतले भन्यो ।
इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दर्ता भएपछि कार्यपालिका सदस्य तुलाङ्गी फोन अफ गरी फरार भएका छन् ।