२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबंगलादेशमा अध्ययन गरेका डाक्टरहरुबीच पुर्नमिलन कार्यक्रम सम्पन्न

बंगलादेशमा अध्ययन गरेका डाक्टरहरुबीच पुर्नमिलन कार्यक्रम सम्पन्न


काठमाडौँ – बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन पुरा गरी आएका डाक्टरहरुबीच पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । बंगलादेशमा अध्ययन गरेर फर्केका डाक्टरहरुबीच एक आपसमा सहयोग तथा सद्भावको भावना कायम गर्नका लागि पुर्नमिलन कार्यक्रमको आयोजना गरिएको हो ।

‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश’को आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले बंगलादेशमा नेपाली डाक्टरले अध्ययन गर्ने मौका पाएकाहरुले नेपालको स्वास्थ्य क्षेत्र हाँकेको बताए ।

उनले बंगलादेश सरकार समेत धन्यवादको पात्र रहेको भन्दै मन्त्री खापुङले पछिल्लोपटक स्वास्थ्य बाहेक बंगलादेश सरकारसँग उर्जा व्यापारको क्षेत्रमा समेत सरकारले सहकार्य गर्ने कार्य बढाएको जानकारी दिए । नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उपलव्ध गराउन बंगलादेशको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बंगलादेशमा अध्ययन गरेर आएका चिकित्सकबीचको पुर्नमिलन कार्यक्रमले सहयोगको भावना जागृत गराउने जनाए ।

बंगलादेशबाट अध्ययन पूरा गरेका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा.भोला रिजालले आफू बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आएको ५० वर्ष पुगेको बताउँदै ५० वर्ष पहिले नेपालले बंगलादेशलाई सहयोग गर्ने गरेकोमा अहिले बंगलादेश नेपाललाई सहयोग गर्ने मुलुकमा पुगेको उल्लेख गरे ।

विकासको दृष्टिकोणबाट नेपाल भन्दा बंगलादेश धेरै अगाडी रहेको भन्दै नेपालले बंगलादेशबाट केही सिक्नुपर्ने डा. रिजालको भनाइ छ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, प्रधानमन्त्री कार्यालयका विज्ञ सल्लाहकार डा आरपी विच्छा, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, बंगलादेशका लागि नेपालका पूर्वराजदूतद्धय प्राडा चोपलाल भुसाल, डा बंशीधर मिश्र, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल लगायतले बंगलादेशमा अध्ययन गर्दाका अनुभूति सुनाए ।

उनीहरुले नेपाल र अन्य छिमेकी मुलुकहरुमा चिकित्सा अध्ययनको सहज पहुँच नहुँदा बंगलादेशमा अध्ययन गर्ने मौका पाएको बताए । कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीचको सम्वन्धको बारेमा चर्चा गरे ।

कार्यक्रमको संयोजन गरेका डा. राकेश साहले बंगलादेशबाट अध्ययन गरी फर्केका डाक्टरहरुको संख्या पाँच हजार बढी पुगेको बताए । डा.दिनेश कोइरालाले बंगलादेशमा अध्ययन गरेका नयाँ र पुराना डाक्टरबीच चिनजान गर्ने र एक अर्कालाई सहयोग गर्ने उद्देश्यले पुर्नमिलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा डा. भोला रिजाललाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्धारा सम्मान गरिएको थियो ।

बंगलादेशबाट अध्ययन गरी आएका अन्य डाक्टरहरुलाई समेत सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ